सिन्धुपाल्चोक जिल्लाका अधिकांश सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध हुँदा राहत वितरणमा समस्या भएको छ ।
तातोपानी, तिपेनी, लिपिङ बजार, काउलेदोभान, बाह्रबिस र हेलम्बुमा निरन्तर पहिरोका कारण नेपाल रेडक्रस सोसाइटीद्वारा वितरण भइरहेको चामल, दाल, तेललगायत सामान वितरणमा कठिनाइ भएको रेडक्रस सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभँडेलले बताए।
उनका अनुसार निरन्तरको वर्षाले अधिकांश गाउँका सडकखण्ड अवरुद्ध छन् । जिल्लाका हेलम्बु, गुन्सा, बरुवालगायत कतिपय गाउँमा अझै राहत सामग्री पुर्याउन सकिएको छैन ।
पहिरो जानेक्रम रोकिएपछि र यातायात पुनःसञ्चालन हुनासाथ बाँकी गाविसमा राहत पठाइने रेडक्रस जिल्ला उपशाखा मेलम्चीका सभापति इन्द्रमणि दाहालले बताए।
जिल्लाको पश्चिमी ३ नं क्षेत्रमा सत्र गाविस र एक नगरपालिका छन् जसमा पाँच गाविसमा राहत सामग्री वितरण भइसकेको तथा अन्य बाँकी गाविसमा यातायात सहज हुनासाथ राहत वितरण पुनःसञ्चालन गरिने रेडक्रसले जनाएको छ । एक महिनाअघिदेखि डब्लुएफपीको संयोजकत्वमा रेडक्रसले जिल्लाभर राहत वितरण गर्दै आइरहेको छ । रासस