काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा धर्म निरपेक्षता हट्ने संकेत गरेका छन्। शुक्रबार बिहान ओली निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।
‘धर्म निरपेक्षताविरुद्ध जनमत आएको छ भन्ने सुनेको छु’, एमाले अध्यक्ष ओलीले भने, ‘त्यो उपयुक्त शब्दावली हैन त्यसलाई हटाए हुन्छ।’
जनताबाट आएका संविधानका सुझाबलाई केलाएर हेर्ने उनले बताए।
संविधानको मस्यौदामा जय जयकार होस् भनेर सुझाब संकलनका लागि नपठाएको उनले प्रस्ट पारे। ‘सुझाब लिन पठाएको हो। त्यस क्रममा केही बिरोध भयो तर धेरै सुझाब आएका छन्’, अध्यक्ष ओलीले भने।
निर्वाचित प्रधानमन्त्री एमालेको एजेन्डा भएको उल्लेख गर्दै उनले संविधान निर्माणका क्रममा त्यसमा सम्झौता भएको प्रस्ट्याए।
‘संविधान निर्माणका क्रममा एमालेलाई मत नपुगेकाले सम्झौता गरेको हो। एजेन्डा छोडेको हैन’, उनले भने।
नेपाल छिर्ने बित्तिकै प्रधानमन्त्री राष्ट्रपति हुन पाइँदैन
एक अर्को प्रसङ्गमा उनले नेपालभित्र पस्ने बित्तिकै राष्टपति प्रधानमन्त्री हुन नपाइँदैन स्पष्ट पारे। ‘कुनै पनि मुलुक छिर्ने बित्तिकै प्रधानमन्त्री राष्ट्रपति हुन पाइँदैन। नेपालमा पनि पाइँदैन’, उनले भने।
अध्यक्ष ओलीले तिज अगाडि नै संविधान आउने र मिठाइ बाँडिने उल्लेख गरे।
‘तीज आउनुभन्दा अगाडि नै मिठाइ बाँडिनेछ। संविधान आउनेछ। जयजयकार हुनेछ’, उनले भने। नागरिकन्युजमा समाचार छ ।