लिपुलेक सम्झौतासम्बन्धी विवाद त्रिपक्षीय रुपमा हल गर्न चिन तयार

काठमाडौं । चिनियाँ वाणिज्य उपमन्त्री छाङ स्याओछेनले चीन र भारतबीच भएको लिपुलेक सम्झौतासम्बन्धी विवाद त्रिपक्षीय रुपमा हल गर्न आफूहरु तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपमन्त्री छाङले विवादित लिपुलेक सम्झौता चीन, भारत र नेपालबीचको त्रिपक्षीय छलफलबाट हल गर्न चीन तयार रहेको बताए ।
वार्ताका क्रममा चीनले भूकम्पपछिको पुनःनिर्माणका साथै विभिन्न क्षेत्रका नाका खोल्ने र विमानस्थलको निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि, विहीबार नेपाल र चीनका अधिकारीहरुबीच पुनःर्निर्माणका विषयमा सम्झौता भएको थियो ।
चीनले पुनःनिर्माणका लागि गर्ने १ अर्ब १ करोड ८८ लाख रुपैयाँ बराबरको सहयोगमा रसुवा र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई स्थायी आवास निर्माण, राजमार्ग सन्चालनलगायतका पाँचओटा क्षेत्र प्राथमिकतामा रहेका छन् । इमेजखबरमा समाचार छ ।