ठूलो भुकम्पपछि अन्य मुलुकमा बजार भाउ अत्यधिक बढ्ने गरेपनि नेपालमा न्युन

काठमाडौं – मुल्यवृद्धि दर सात बर्षयताकै न्युन रहदै गत बर्ष ७ दशमलब ५ प्रतिशतमै सीमित भएको छ । ठूलो भुकम्पपछि अन्य मुलुकमा बजार भाउ अत्यधिक बढ्ने गरेपनि यहाँ न्युन रहन गयो । गत बर्षको पहिलो ११ महिनाको बजार भाउका आधारमा केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले सर्वसाधारणले उपभोग गर्ने ३ सय १० वस्तु तथा सेवालाई डालोमा राखेर बजार भाउको अवस्था अध्ययन गर्छ । निश्चित शुत्र अनुसार यी वस्तुको मुल्यको उतार चढावको आधारमा उपभोक्ता मुल्य सुचकांक (सिपिआइ) निकालिन्छ । त्यहि सिपिआइमा हुने वृद्धिलाई मुद्रस्फिति दरमा भएको वृद्धि भन्ने गरिएको हो ।
यसले औसत बजार भाउ देखाउन हुँदा हामीले सधै उपयोग गर्ने केहि सामानको मुल्य अत्यधिक बढदा पनि औसत कम नै देखिन्छ । भुकम्पपछि दालको मुल्य प्रति किलो ४० रुपैयासम्म बढे पनि तरकारीको भाउ घटेकाले औसत कम हुनु यसको एक उदाहरण हो ।
यसबाहेक अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको भारी गिरावटले पनि बजार भाउ बढन नदिएको हो । गत बर्षमा पेट्रोलियम पदार्थको मुल्य आधा घटेको थियो । बार्षिक १ खर्ब ३० अर्ब रुपैयाको हाराहारीमा इन्धन आयात हुने गरेको छ । राष्ट्र बैंकका प्रवक्ता मीन वहादुर श्रेष्ठ इन्धनलाई पनि डालोमा राखिने हुदा यसको मुल्यमा आएको गिरावटले बजार भाउ कम देखिएको वताउछन ।