भूकम्पबाट प्रभावित १४ जिल्लामा २ वर्षका लागि मालपोत मिनाह गर्ने निर्णय गरे पनि कार्यान्वयन भएन

दोलखा, श्रावण १२ । सरकारले भूकम्पबाट प्रभावित १४ जिल्लामा २ वर्षका लागि मालपोत मिनाह गर्ने निर्णय गरे पनि त्यसको जानकारी सम्बन्धित जिल्लामा नगराउँदा दोलखाको भीमेश्वर नगरपालिकाका बासिन्दा मारमा परेका छन् ।
सरकारले मालपोत मिनाह गर्ने निर्णय गरे पनि दोलखाको भीमेश्वर नगरपालिकाले भने परिषद्को हवाला दिँदै साउन १ गतेबाट एकीकृत सम्पत्ति करमा २१ सय प्रतिशत बृद्धि गरेपछि भूकम्प पीडितहरु थप मारमा परेका हुन् ।
नगरपालिकाको गत पुष महिनामा सम्पन्न नगर परिषद्ले नयाँ आर्थिक बर्षबाट कर रकममा बृद्धि गर्ने निर्णय गरेपछि परिवर्तित करको दर अनुसार रकम लिइएको कार्यकारी अधिकृत सञ्जयबहादुर राजलवटले जानकारी दिए ।
कार्यकारी अधिकृत राजलवटले मालपोत मिनाह गर्ने निर्णयबारे हालसम्म जानकारी नआएकाले पुरानो निर्णय अनुसार नै करमा बृद्धि गर्नुपरेको बताएका छन् ।
उता, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय स्वायत्त शासन ऐनमा भएको व्यवस्थामा परिमार्जन गरेर वा विशेष नगरपरिषद् गरेर भए पनि भूकम्प पीडित नगरवासीलाई अस्वाभाविक करबाट मुक्त गरिनुपर्ने माग राखेका छन् । इमेजखबरमा समाचार छ ।