मधेसी मोर्चाद्धारा थप आन्दोनको कार्यक्रम घोषणा

काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको अन्तिम मस्यौदा पनि विगतको सम्झौता विपरीत अहिलेकै रुपमा आए संविधानसभामा पेस भएको भोलिपल्टदेखि मस्यौदा जलाउने र आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
सदभावना पार्टी कार्यालय बानेश्वरमा शनिबार बसेको मोर्चा बैठकले प्रारम्भिक मस्यौदाकै रुपमा अन्तिम मस्यौदा ल्याउने चार दलले षडयन्त्र रचिरहेको निष्कर्ष निकाल्दै त्यस विरुद्ध संघर्षको तयारीमा जुटने निर्णय गरेको तराई मधेश लोतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए ।
मोर्चाले साउन १९ देखि २४ गतेसम्मको बिरोधका कार्यक्रम पनि तय गरेको उनले जानकारी दिए ।  
‘चार दलले संविधानमा हाम्रा विषयवस्तु, विगतको सहमति सम्झौता वा अन्तरिम संविधानको दिशा निर्देशन तर्फ कुनैपनि अग्रसरता देखाएको छैन,’ बैठकपछि लालले भने-‘प्रारम्भिक मस्यौदा जस्तै अन्तिम मस्यौदा ल्याउने षडयन्त्र तर्फ हामी सचेत छौं ।’ संघर्षका लागि अरु राजनीतिक समूहसँग पनि एकता गरिने मोर्चाको निर्णय रहेको उनले जनाए ।
बैठकले साउन १९ देखि २३ सम्म सबै निर्वाचन क्षेत्रमा कार्यकर्ता र जनतालाई जागरुक बनाउन कोणसभा गर्ने, साउन २० गते धनकुटा र नेपालगंजमा,  साउन २१ मा बिर्तामोढ र धनगढीमा, साउन २४ मा हेटौडामा बिरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । साथै साउन २४ मा सबै जिल्लामा आन्दोलनको समिक्षा र तयारीका लागि बैठक राख्ने कार्यक्रम तय गरिएको मोर्चाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । ईकन्तिपुरमा समाचार छ ।