कैलाली । अबिरल बर्षापछि आएको बाढीले कैलालीको धनगढी बजारका दर्जनौं बस्ती डुवानमा परेका छन् ।
स्थानीय खोलाहरुमा पानी बढेसँगै बजारका बस्तीहरु डुबानमा परेका हुन् । बाढीका कारण धनगढीको विशालनगर, शिवनगर, सेतो पुल, त्रिवेणी चोक, बोराडाँडी, हसनपुर, पशुपति टोल, बैयाबेहडी, क्याम्पस रोड, मनोहरालगायतका क्षेत्रमा तीन फिटसम्म पानी जमेपछि आवागमनमा समेत समस्या भएको छ ।
स्थानीयको घरघरमा पानी पसेको छ भने सडकमा ठूलो भेल बगिरहेको छ । धनगढीको विशालनगर टोलमा मात्र एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
अविरल बर्षाका कारण कैलाली जिल्लाका मोहना, खुटिया, कान्दरा, शिवगंगा, पथरैया, कैलाली नालालगायतका नदीमा पानीको सतह बढेको छ ।
धनगढीमा जथाभावी रुपमा भौतिक संरचना निर्माण हुने क्रम बढेकाले पानीले निकास नपाउँदा समस्या बढ्दै गएको स्थानीयको भनाइ छ ।
यसैबीच धनगढी नगरपालिका-१ शान्तिनगरका १२ वर्षीय रोशन नेपाली बाढीमा परी बेपत्ता भएका छन् । इमेजखबरमा समाचार छ ।