काठमाडौं । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ ।
सरकारले विभेदकारी र असन्तुलित ढंगले बजेट ल्याएको भन्दै एकीकृत माओवादीले सोमबार सदन बहिस्कार गरेको हो ।
एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले शान्ति सम्झौता र भूकम्पपछिको अवस्थालाई बेवास्ता गर्दै बजेट ल्याएकाले यही अवस्था कायम हुन्जेल आफूहरु सदनमा नरहने जानकारी दिए । उनले विनियोजन विधेयकमाथिको छलफल अपांग र अधुरो रहेको आरोप लगाए ।
पोखरेलको अभिव्यक्तिलगत्तै एकीकृत माओवादीका सांसदहरु हलबाहिर निस्किएका थिए । एमाओवादीले बहिस्कार गरेसँगै सदन स्थगित भएको छ ।
यसअघि, सत्तारुढ दलकै सांसदहरुले यस आर्थिक वर्षको बजेटविरुद्ध संसदमा नाराबाजीसमेत गरेका थिए । विनियोजित विधेयकमा छलफल सुरु हुनासाथ सांसदहरुले बजेटको विरोध गरेका हुन् ।
उनीहरुले अर्थमन्त्री डा. रामशरण महतले पुनःनिर्माण र नवनिर्माणलाई ख्यालै नगरी जथाभावी रुपमा बजेट ल्याएको आरोप लगाए ।
एमालेका सांसद राजेन्द्रप्रसाद पाण्डे, विदुर सापकोटा, रामहरि सुवेदी, पार्वत गुरुङलगायतले बजेट कांग्रेसको महाधिवेशनमुखी भएको, मन्त्रीहरुले आफ्नो क्षेत्र केन्द्रित गरेको, भूकम्पको पीडालाई नबुझेको भन्दै आलोचना गरेका थिए । इमेजखबरमा समाचार छ ।