सरकारका ६ वटा महत्वपूर्ण मन्त्रालय र निकाय सचिवविहीन

काठमाडौं, श्रावण २० । सरकारका ६ वटा महत्वपूर्ण मन्त्रालय र निकाय सचिवविहीन भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सटौला ५८ वर्ष उमेर पूरा गरी मंगलबारदेखि अनिवार्य अवकास पाएपछि प्रशासनिक नेतृत्वविहीन मन्त्रालय र निकायको संख्या ६ पुगेको हो ।
प्रशासनिक निकाय नेतृत्वविहीन भए पनि सरकारले बढुवा प्रक्रिया अघि बढाएको छैन ।
हाल भौतिक पूर्वाधारसहित परराष्ट्र, शान्ति तथा पुनर्निर्माण, श्रम तथा रोजगार मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालय प्रशासनिक नेतृत्वविहीन छन् ।
ट्रष्टमा केदारबहादुर अधिकारी र महालेखा नियन्त्रणको कार्यालयमा राजेन्द्र नेपाल कायम मुकायम सचिव छन् । बाँकी निकायमा निमित्त सचिव छन् ।
यसैबीच मन्त्रिपरिषद्को बुधबार बस्ने बैठकले मुख्य सचिव नियुक्तिको निर्णय गर्दैछ ।
मुख्यसचिव लिलामणि पौडेलको कार्यअवधि आगामी शुक्रबार सकिन लागेकाले सरकारले नयाँ मुख्य सचिवको निर्णय गर्न लागेको हो ।
वरिष्ठ सचिवहरु जयमुकुन्द खनाल र सोमलाल सुबेदीमध्ये एक जना मुख्य सचिवमा नियुक्त हुने सम्भावना छ । इमेजखबरमा समाचार छ ।