Photo: REUTERS
पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन्। बीबीसी न्युजमा समाचार छ ।
नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सन्चित सबै उर्जा निस्कन नसकेको र त्यो उर्जा पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन्।
नेचर तथा साइन्स नामक जर्नलहरुमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन्।
तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिं भन्न नसकिने बताए।
ठूलो विध्वंश हुनसक्ने
हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसीरहेको ठाउँमुनि अत्यन्तै धेरै उर्जा सन्चित भैरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ प्रा. जँ फिलिप अवुआक, क्याम्ब्रीज विश्वविद्यालय बीबीसीसंग कुरा गर्दै ब्रिटेनको प्रतिष्ठित क्याम्ब्रीज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले भने, यस क्षेत्रमा ध्यान दिन जरुरी छ। यदि आज भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्रै हैन, उत्तरी भारतको गङ्गा मैदानमा घना बसोबासका कारण पनि ठूलो विध्वंश हुनसक्नेछ।
वैज्ञानिकहरुका अनुसार गत बैशाख १२ मा गएको भूकम्पले पृथ्वीमुनि सन्चित दबाबमध्ये केहीमात्रै सतह बाहिर निकालेको थियो।
प्राध्यापक अवुआकले भने, यदि सो भुइँचालोले हिमालयको अघिल्तिरसम्मको भूभागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउन सक्थ्यो।
अनुसन्धानकर्ताहरु पृथ्वीको सतहमुनिको केही तनाव पोखरादेखि पश्चिम तथा दिल्लीको उत्तरतर्फ सरेको ठान्दछन्। बीबीसी न्युजमा समाचार छ ।
पश्चिम नेपालका बारे निकै चिन्तित
पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कुले छात्रछात्रहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ प्रा. डेभिड रथरी, ओपन युनिभर्सिटी, युके
हिमालयक्षेत्रमा सन् १५०५ मा ८.५ परिमाणको महाभूकम्प आएको थियो।
हालै त्यता सरेको दबाबले गएको पाँचसय वर्ष भन्दा बढी समयदेखि त्यहाँ जम्मा भैरहेको उर्जामाथि थप दबाब थप्न सक्ने उनीहरु बताउँछन्।
अहिले हामी पश्चिम नेपालका बारे निकै चिन्तित छौं, प्राध्यापक अवुआकले भने।
उनले नेतृत्व गरेको टोलीले त्यस क्षेत्रमा अरु बढी अनुगमन गर्नुपर्ने जनाएको छ, यद्यपि अर्को प्राकृतिक विपद ठिक कहिले आउनेछ भनेर अनुमान गर्नु असंभव नै छ।
हामी मानिसहरुलाई तर्साउन चाहँदैनौं, तर आफुहरु बसीरहेको ठाउँमुनि अत्यन्तै धेरै उर्जा सन्चित भैरहेको छ भन्नेबारे उनीहरु सचेत रहन अत्यन्तै आवश्यक छ, प्राध्यापक अवुआकले भने।
उनले ठूला भूकम्पहरु पनि थेग्नसक्ने ससाना घरहरु निर्माण गर्न सुझाव दिए।
नेपालमा गत बैशाखमा गएको भूकम्पमा परी झण्डै नौहजार जनाको ज्यान गएको थियो भने हजारौं अन्य घाइते भएका थिए। बीबीसी न्युजमा समाचार छ ।
भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिने
ब्रिटेनको ओपन युनिभर्सिटीसंग संबद्ध प्राध्यापक डेभिड रथरीले भने, पश्चिम नेपाल तथा उत्तरी भारतको समथर इलाकाका स्कुले छात्रछात्रहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्ने सिकाएर तथा विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी बनाएर कैयौं ज्यान जोगाउन सकिनेछ।
अत्याधुनिक जीपीएस स्टेशनहरुबाट संकलन गरिएका थप तथ्यांकहरुले गत बैशाखमा गएको भूकम्पबाट अरु बढी क्षति हुनसक्ने देखाएको वैज्ञानिकहरु बताउँछन्।
प्राध्यापक अवुआकले भने, काठमाण्डौ नजीकै ७.८ परिमाणको भूकम्प आयो भन्ने सुन्दा त्यसबाट तीन देखि चारलाख मानिसहरुको ज्यान गयो भन्ने समाचार सुन्न म तयार भएर बसेको थिएँ। यो दुर्घटना हो, तर निकै घना जनसंख्या भएको इलाकामा १०,००० भन्दा कम मानिसहरुको ज्यान जानुलाई एउटा सानो संख्या नै मान्नु पर्दछ।
गत बैशाखको भूकम्पले उच्च फ्रिक्वेन्सीको तरङ्गहरु सिर्जना गरेको भए काठमाण्डौका साना भवनहरुमा ठूलो क्षति पुग्न सक्ने थियो भनी वैज्ञानिकहरु बताउँछन्।
सो भूकम्पमा पर्याप्त उर्जा निस्काशन नभएको, बरु जमीनमुनि जम्मा भएको उर्जा पश्चिमतर्फ सरेकाले अझ ठूलो भूकम्पको जोखिम बढेको उनीहरुले बताएका छन्। बीबीसी न्युजमा समाचार छ ।