काठमाडौ – पहिलो चरणको आन्दोलनको सुनुवाई नभएको भन्दै दलित समूदायले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २३ देखि ३० सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरिएको छ ।
पहिलो चरणको आन्दोलन अन्तरगत बिजुलीबजारमा भएको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको विरोध गर्दै घोषणा गरिएको कार्यक्रममा साउन २३ गते दलित र गैरदलित समुदायका सभासद्हरुसँग अन्तरक्रिया तथा २४ गते माइतीघरदेखि बानेश्वरसम्म महिलाहरुको नेतृत्वमा जुशुल गर्ने कार्यक्रम छ । अधिकारकर्मी विनोद पहाडीका अनुसार यो जुलुशमा पुरुषहरु पछाडि हुनेछन्, नेतृत्व महिलाको हुनेछ । गैर दलित महिलाहरुलाई पनि यो जुशुलमा सहभागि हुन आह्वान गरिएको छ ।
२५ गते काठमाडौंमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइनेछ भने बाँकी जिल्लामा जुलुशसहित जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइनेछ । बिजुली बजार चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको विरोधमा २६ गते ११ बजेदेखि दुई घन्टा सिट्टी बजाउँदै चक्काजाम गर्ने कार्यक्रम घोषणा गरिएको छ ।
साउन २७ गते काठमाडौंमा माइतीघरबाट बानेश्वरसम्म कफन बाँधेर जुलुश निकालिने छ भने २८ गते मुख्य पार्टीका शीर्ष नेताहरुसँग अन्तरक्रिया हुनेछ । २९ गते काठमाडौंमा मोटरसाइकल र्याली र ३० गते माइतीघरदेखि बानेश्वरसम्म सांस्कृतिक झाँकीसहितको बृहद् प्रदर्शन गरिनेछ ।
दोस्रो चरणको आन्दोलनका क्रममै सरकारले वार्तामा बोलाए आन्दोलन सँगै वार्ता जारी राख्ने र माग पूरा नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने पहाडीले बताए ।
दलित समुदायले सदिऔंदेखि उत्पीडनमा पारिएकाले संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरुप संघमा ३, प्रदेशमा ५ र स्थानीय निकायमा १० प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नु पर्ने लगायतका नौ बुँदे माग राखेको छ । ईकन्तिपुरमा समाचार छ ।