बुटवल । पाल्पाको दोभानस्थित सिद्धबाबामा पहिरोमा परी भएको माइक्रो बस दुर्घटनामा हराइरहेकाहरुको खोजी आइतबार पनि जारी छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, पाल्पा र बुटवलबाट खटिएका प्राविधिकसहितको टोलीले खोजी जारी राखेको हो ।
पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ५७७१ नम्बरको माइक्रो बस दोभान-५ सिद्धबाबामा शनिबार दिउँसो पहिरोसँगै तिनाउ नदीमा खसेको थियो ।
हालसम्म पाल्पा ताहुकी बिद्या श्रेष्ठ, बिष्णु माया श्रेष्ठ र गुल्मी सिर्सेनीका बिष्णुबहादुर थापाको मात्र शव फेला छ ।
दुर्घटनाग्रस्त बस नदीमा हराइरहेकाले उद्धारमा थप कठिनाई भएको प्रहरीले जनाएको छ ।
अहिले पानी मुनी गएर बस खोज्ने कार्य भइरहेको घटनास्थलमा उद्धारमा खटिएका पाल्पाका प्रहरी नायव निरीक्षक तोपबहादुर रानाले जानकारी दिए । माइक्रो बसमा रहेका ६ जनाले भने हाम फालेर ज्यान जोगाएका थिए ।
माइक्रो बसमा सवार अन्य यात्रु सम्पर्कमा नआएकाले सबै नदीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । माइक्रोबसमा कति सवार थिए भन्ने समेत यकिन हुन सकेको छैन ।
लगातारको बर्षासँगै हिलो, लेदो र ढुंगासहितको पहिरो खसिरहेको र नदीमा बाढी आएको कारण उद्धारमा थप कठिनाई भएको हो ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं सबारी साधन र यात्रु अलपत्र परेका छन् । डोजर प्रयोग गरी अहिले पहिरो हटाउने कार्य भइरहेको छ । इमेजखबरमा समाचार छ ।