राप्रपा नेपालका सभासदहरूले प्रतिवेदन च्याते

प्रतिवेदन निर्माणको चरणमा नै सर्वसत्ताबादी र स्वेच्छाचारी कार्य गरेको भन्दै राप्रपा नेपालका सभासदहरूले प्रतिवेदन च्यातेका छन्।
आइतबार संविधान सभामा अध्यक्ष कमल थापाले बोल्नासाथ सभासदहरूले प्रतिवेदन च्यातेर निरंकुशताको अन्त्य हुनुपर्ने भन्दै जनताको भावना अनुसार संविधान आउनुपर्ने बताए।
हामी संविधान निर्माणको कष्टपूर्ण अन्तिम चरणमा आइपुगेका छौ। आफूले चयन गरी पठाएका प्रतिनिधिले आफ्नो चाहना अनुसार संविधान बनाउनु पर्छ भन्ने थियो। तर आज गम्भिर आशंका पैदा हुँदैछ।
प्रतिवेदन निर्माणको चरणमा नै सर्वसत्ताबादी र स्वेच्छाचारी कार्य गरियो। संवाद समितिमा चार दलका नेतालाई जिम्मा दिने प्रस्ताव मैले नै गरेको हो।
विगतमा केही सिमीत दलका केही सिमीत नेताहरुले बन्द कोठमा निर्णय गर्ने गरेकोमा यसपटक चार दलका नेताले यहि सदनभित्र निर्णय होस भनि प्रस्ताव गरेको हो।
हामीले सोचेका थियौं निर्णय गर्ने क्रममा सबै दलसँग परामर्श होला। तर सर्वसत्ताबादी सोचले ग्रस्त नेताहरुले कुनै शिष्टाचार सम्म गरिएन। जनताले दिएको सुझाव सहमतिका आधारमा सम्बोधन गर्नुको सट्टा सत्ता र स्वार्थको भागबण्डाको आधारमा निर्णय गर्ने काम भएको छ।
सिंगो मुलुकलाई थाहा छ कि हिन्दु राष्ट्र र जननिर्वाचित कार्यकारी प्रमुख बनाउने कुरा आएको थियो। तर यो विषयलाई पूर्णरुपले वेवास्ता गरियो।
अहिले देशका विभिन्न भागमा धर्म निरपेक्षता खारेज गर्न आन्दोलन भइरहेको छ। त्यसलाई सुन्ने काम समेत भएन। तीन दलका नेताहरुले समेत धर्म निरपेक्षता शब्द आवश्यक रहेनछ भनेको बेला अहिले यसलाई परिमार्जन गर्न नेताहरूलाई कुन शक्तिले रोक्यो?
हिन्दु राष्ट्रको सुनिश्चितता नगरिएको अवस्थामा हचुवा ढंगले गरेको निर्णय अहिले यो सदनमा थाहा भयो। संघीयताको विषयमा भूमाफियाले जग्गाको प्लटिङ गर्ने शैलीमा प्रदेश निर्माणको हचुवा निर्णयले प्रजातन्त्रलाई बलियो र राष्ट्रलाई एकतामा राख्न सक्दैन। सनातन हिन्दु राष्ट्रलाई निशेध गरिए धार्मिक र सास्कृतिक द्वन्द्व जन्मने छ।
यो प्रतिवेदनको प्रतिबाद गर्नु हाम्रो कर्तब्य भएको कारण हामी प्रतिबाद गर्छौ। भन्दै राप्रपा नेपालका सभासदले अगाडि आएर प्रतिवेदनको कागज च्यातेर फालेपछि सभाध्यक्षले कागज नच्यातन चेतावनी दिएका थिए। सेतोपाटीमा समाचार छ ।