डोटीमा अविरल बर्षासंगै आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यू, ५९ परिवार बिस्थापित

डोटी – सोमबार रातीको अविरल बर्षासंगै आएको पहिरोमा परी डौड गाविसका वडा १ र ३ मा  एकै परिवारका ५ जना र एक ६ महिने वालिका सहित ६ जनाको मृत्यू भएको छ । पहिरोले दुइवस्तीका झण्डै ५९ परिवार बिस्थापित हुने अवस्थामा पुगेका छन् ।
गाविस सचिव लाल बहादु बोगटीका अनुसार मृत्यू हुनेमा डौड गाविस ३  भल्मा गाउकी ३६ बर्षिया देवा बिष्ट, उनको १२ बर्षिय छोरा हर्क, १० बर्षिय छोरी सरस्वती, ५ बर्षिय छोरा वीर बहादुर र ६ महिनाकी छोरी भावना रहेकी छिन् ।
त्यसै गरी डौड गाविसको  १ डौडगाउ बस्ने ८३ बर्षिया चन्द्रादेवी सिंहको पनि मृत्यू भएको छ । बिष्ट परिवार गाउ नजिकै रहेको ठुला ढुंगा भन्ने लेकमा खर्क बनाएर बस्दै आएका थिए । निरन्तर परेको पानीले राती एक्कासी माथिबाट खसेको पहिरोले  खर्क पुरिएर  त्यही सुतेका उनीहरुको मृत्यू भएको स्थानियले बताएका छन् ।
गत चैत महिनामात्रै माटो खन्न जादा बिष्ट परिवारका तीन सदस्यको माटोको ढिस्कोले पुरिएर ज्यान गएको थियो । पहिरोमा परी एक जना घाइते छन् । पहिरोबाट बच्न भाग्न खोज्दा भल्मा गाउका डम्बर बिष्टलाई चोट लागेको थियो । घाइते बिष्टको डौड स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकामको जिल्ला अस्पताल पुर्‍याइउकोछ । 
वडा नं. १ र ३ मा रहेका केही घरगोठ र बिद्यालयमा पहिरोले क्षती पुगेको छ ।  वडा नं. ३ मा पर्ने भल्मा गाउको बाबनसैन बस्तीका ३२ परिवार पहिरोको डरले घर छाडेर हिडेका छन् । उनीहरु सोही गाउमा रहेको भल्मा प्राविमा आश्रय लिएर बसेको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
गाविस सचिव बोगटीका अनुसार डौडको छिमेकी तोलनी गाविस ४ भुलकेला बस्तीका २७ परिवार पनि पहिरोको डरले घर छाडेर निस्केका छन् । स्थानिय पहिरोको डरले त्रासमा छन् । पहिरोले डौड र तोलेनीमा रहेका तीन वटा  साना जलबिद्युत योजनामा पनि क्षती पुगेकोछ । दर्जनौ चौपाया पनि पहिरोमा परि मरेको बताइएको छ ।
सदरमुकाम सिलगढी देखि टाढा रहेकाले उद्दारटोली मंगलबार साझ मात्र घटनास्थल पुगेकोछ । नेपाल रेडक्रस सोसाइटी डोटी शाखाको टोली त्रिपाल, कम्बल र भाडाकुडी लिएर घटनास्थल पुगेको छ । उद्दारका लागि जिल्ला सदरमुकाम सिलगढीबाट नेपाल प्रहरी, नेपाली सेना, रेडक्रस सोसाइटीका पदाधिकारी र स्वयम्सेवक गएको छ । ईकन्तिपुरमा समाचार छ ।