रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै तीन जना पूर्वसभासद्सहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय

रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन जना पूर्वसभासद्सहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजायको फैसला गरेको छ ।
विशेष अदालतले पूर्वसभासदहरु गायत्री साह, बीपी यादव र शिव पुजनलाई जनही ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिइन् भने यादव र पुजन मधेसी जनअधिकार फोरमका सभासद थिए ।
विशेष अदालतले अध्यागमनका तत्कालीन कर्मचारीहरु इन्कुमार सुनुवार, देवीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारी र भूमिनन्द भण्डारीलाई पनि जनही ४ महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको छ ।
कुटनीतिक राहदानी प्रयोग गर्नेहरु पृथ्वी छन्त्याल, सीता साह, निर्मल बानियाँ र केदारनाथ शर्मालाई जनही डेढ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला अदालतले गरेको छ ।
त्यसैगरी अदालतले बिचौलियाहरु देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, डिलबहादुर घर्ती र सन्तोष उप्रेतीलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
राहदानी दुरुपयोग प्रकरणमा संलग्न आरोप लागेका सभासदहरु नारदमुनि राना, हरिचरण साह, अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकालले भने विशेष अदालतबाट सफाई पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ साल वैशाख २८ गते उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । इमेजखबरमा समाचार छ ।