काठमाडौमा दुई सातायता देखिएको हैजा बिस्तारै फैलिँदै, ३८ जना हैजाका बिरामी भेटिए, दिनहुँ सरदर २५ जना हैजाका बिरामी अस्पतालमा पुग्ने

काठमाडौ  – राजधानी काठमाडौमा दुई सातायता देखिएको हैजा बिस्तारै फैलिँदै गएको छ। बल्खुमा देखिएको हैजा कालिमाटी, सोल्टीमोड, कुलेश्वर, टेकु, ओमबहाल, भोटेबहाल, इमाडोल, नरदेवी हुँदै केन्द्रीय कारागारसम्म देखिएको छ। हैजा देखिएपछि कारागारका दुई जना टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्।
 टेकु अस्पतालमा बिहीबारसम्म प्रयोगशाला प्रमाणित ३८ जना हैजाका बिरामी भेटिएका छन्। अस्पतालमा दिनहुँ सरदर २५ जना हैजाका बिरामी पुग्ने गरेका छन्।  हैजाको संक्रमण फैलिरहेको छ, डा. शेरबहादुर पुनले भने,  ३८ जनामा प्रयोगशाला प्रमाणित हैजा देखिनुको अर्थ यो संक्रमण भएकाहरू एक हजारभन्दा बढी हुन सक्छन्।