सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी

सुनसरी ! सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ ।
पहाडी जिल्लाहरुमा वर्षा नरोकिएसँगै नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको हो । गएराति नदीमा पानीको बहाव यो बर्षकै उच्च १ लाख ९४ हजार २ सय क्युसेक पुगेको छ ।
मंगलबार बिहान सात बजे गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव घटेर प्रतिसेकेण्ड १ लाख ७६ हजार २ सय क्युसेक पुगेको छ ।
पानीको बहाव घटे पनि नदी आसपासका क्षेत्रमा भने जोखिम बढेको छ । अहिले सप्तकोशीका ५६ मध्ये २४ वटा ढोका खोलिएको छ ।
नदीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी सञ्चालन गरिएको छ ।
नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिँदै आएको छ । नदीमा पानीको बहाव बढ्दा समेत व्यारेजका सबै ढोका नखोलिएको भन्दै कोशी प्रभावित क्षेत्रका बासिन्दा आक्रोसित बनेका छन् ।
उता, सुनसरीको लौकही, महेन्द्रनगर, चतरा र भण्टाबारीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
यि क्षेत्र बाढीको लागि अति जोखिम क्षेत्र मानिन्छ । त्यस्तै प्रशासनले यि क्षेत्रहरुमा माइकिङ गरेर स्थानीयलाई सर्तक रहन आग्रह गरेको छ ।
२०६५ साल भदौ २ गते कोशीले पूर्वी तटबन्धन भत्काएर ताण्डप मच्चाएको मंगलबार सात बर्ष पुगेको छ ।
तर सरकारले हालसम्म पनि बाढी प्रभावित क्षेत्रमा कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् । इमेजखबरमा समाचार छ ।