प्रदेश सिमांकनको बिरोधमा कपिलवस्तुमा तनाव, १२ बोर बन्दुक बरामद, पुर्वपश्चिम राजमार्ग ठप्प ! बारामा बन्दले जनजीवन कष्टकर

प्रदेश सिमांकनको बिरोधमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मी बीच बुधबार पनि सदरमुकाम तौलिहवामा ५ घण्टा ढुंगा हानाहान भयो । प्रर्दशनकारीले दिउँसो जिल्ला प्रशासन सुरक्षार्थ तैनाथ प्रहरीलाई ढुंगा हानेपछि तनाव सुरु भएको थियो । प्रहरीले उनिहरुलाई भगाउन १ सय ७ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।   
प्रहरी र प्रदर्शनकारीबीच सांझ ५ बजेसम्म ढुंगा हानाहान भएको थियो । उनिहरुले ३ तिरबाट कार्यालय घेरेर ढंुगा प्रहार गरेका थिए । साँझसम्म नहटेपछि २७ राउण्ड हवाई फायर गरेको दावी प्रशासनले गरेको छ । झडपमा ११ प्रर्दशनकारी घाईते भएका थिए । प्रदर्शनकारीले प्रहरीले रबरको गोली चलाएको दावी गरेका छन । हवाई फायर गर्दै प्रशासन बाहिर निस्केको प्रहरीले भीड हटाउन लाठी प्रहार गरेको थियो । यस क्रममा १० लाई नियन्त्रणमा लिएको छ । झडपमा प्रहरी उपरिक्षक विक्रम गुरुड सहित ८ प्रहरी सामान्य घाईते भएका छन् । 
सांझ स्थिति नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले बताए । लगातार ढुगामुढा गरेकाले सांझ हवाई फायर गर्नु परेको उनले बताए । गाउंबाट दिउसो सदरमुकाम आएका प्रदर्शनकारीमा युवा धेरै थिए । उनिहरुले बिहान गौढीचोकमा रहेको अस्थाई प्रहरी बिट तोडफोड गरेका थिए । 
वडा प्रहरी र डिभिजन सहकारीको साईनबोड तोडफोड गरेका थिए । गाउ गाउबाट लाठी लिएर सदरमुकाम आएका थिए । उनिहरुले तितिर्खी गाविसका कागजात जलाएर नष्ट गरेका छन् । समाचार नछापेको भन्दै जहदीमा बुटवल टुडे दैनिक जलाएका थिए । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा मंगलबारपनि सदरमुकाम तनावग्रस्त बनेको थियो । मंगलबार प्रहरीले चलाएको रबरका गोली लागेर २ जना घाइते भएका थिए । 
गाडीलाई स्कर्टिङ

नवलपरासीमा ८ देखि ठप्प पुर्वपश्चिम राजमार्गमा बुधवार विहान देखी प्रहरीले ‘स्कर्टिङ’ गरेर गाडी संचालन गरेको छ । लामो बन्दले जनजीवन प्रभावित भएपछि प्रहरीले सुरक्षा प्रदान गरेर गाडी चलाएको हो । जिल्लाको दाउन्ने पश्चिम १ सातादेखि ठप्प छ । त्यस भन्दा पुर्व बन्दको प्रभाव छैन । जिल्लामा प्रदर्शनकारी नभएको प्रहरीले जनाएको हो । 
अवस्था समान्य बन्दै गएको डिएसपी सोम बहादुर थापाले बताए । जिल्लामा अहिले राजमार्ग बाहेक अन्य क्षेत्रमा गाडी चलेका छैनन । बजार खुल्न नसकेको थापालेे जनाए । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रहेको कुश्मा २ बेलासपुरमा केही युवाले एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री शुशिल कोईराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष बिजय गच्छेदारको पुतला दहन गरेका थिए । बुधवार बन्दकर्ता फाटफुट मात्र देखिएका थिए । अनिश्चिकालिन भएकाले बन्द खुल्ने अवस्था नरहेको संघिय समाजबादी फोरम जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए । ईकन्तिपुरमा समाचार छ ।   
बन्दले कष्टकर
बारामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ४ दिनदेखिको बन्दले जनजीवन कष्टकर बनेको छ ।  सर्वसाधारण र व्यवसायी आत्तिएका छन । जीवनयापन कष्टकर बनेपछि बन्दकर्ताले मंगलवार उद्योग बाणिज्य संघसित हरेक दिन सांझ ५ बजेदेखि सदरमुकाम कलैयाको बजार खोल्ने सहमति गरेका छन । 
संघको सभाहलमा भएको सर्वपक्षीय छलफलले यस्तो सहमति गरेकेा बन्दकर्ता जितेन्द्र सिंहले बताए । ‘बन्दबाट व्यापारीहरु आजित भइसकेका छन,’ त्यसैले ब्यापारीलाई मर्का नपर्ने गरी विरोधका कार्यक्रम गर्न आग्रह गर्दछौं,’ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद साहले भने । सदरमुकाम बाहिरका हाट बजारबाट चल्ने दर्जनौं सार्वजनिक यातायातका साधन ठप्प्ा छन् । विरामी र सेवाग्रहीले यातायात संचालन गर्न दबाब दिइरहेको यातायात व्यवसायीले बताए । 
बन्दुक बरामद
कपिलवस्तुमा बुधबार सशस्त्र प्रहरीले बैदौली गाविसका अब्दुल मुसलमानबाट १२ बोर बन्दुक र त्यसको १ राण्उड गोली बरामद गरेको छ । बाटोमा हिडीरहेका बेला गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि उनले बन्दुक कल्र्भटमुनी लुकाएका थिए । 
सशस्त्रले उनको पिछा गरेर बन्दुक बरामद गरेर प्रहरीलाई बुझाएको जनायो । बुवाका नाममा ईजाजत प्राप्त बन्दुक लिएर आफु शिकार खेल्न हिडेको छोरा मुसलमानले बताए । बन्दुकसंग एउटा चक्कु पनि सशस्त्रले बरामद गरेको छ । बन्दुकबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनायो । ईकन्तिपुरमा समाचार छ ।