कपिलवस्तुको तौलिहवामा निषेधाज्ञा जारी ! नारा, जुलुस, प्रदर्शन, धर्ना र समुहमा बस्न रोक

कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा निषेधाज्ञा जारी गरिएको छ ।
सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम तौलिहवामा बिहीबारबाट निषेधाज्ञा जारी गरेको हो ।
प्रहरीले सदरमुकाम क्षेत्रमा नारा, जुलुस,  प्रदर्शन, धर्ना र समुहमा बस्न रोक लगाएको छ । अहिले बजार क्षेत्रभरी बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उता, सञ्चारकर्मीहरु भने आन्दोलनकारी र प्रहरीको दोहोरो चेपुवामा परेका छन् । आफूहरुले खुलेर रिपोर्टिङ गर्न नपाएकोे भन्दै अहिले मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुले छलफल गरिरहेका छन् ।
सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुले आन्दोलन कडा बनाएपछि बिगत सात दिनदेखि यस क्षेत्रमा आन्दोलन चर्किएको हो ।
सात दिनदेखि कपिलबस्तुमा पनि यातायात, शैक्षिकसंस्था, बजार र कलकारखाना ठप्प छन् । अहिले बाक्लो प्रहरी परिचालनका कारण सदरमुकाम सुनसान छ । इमेजखबरमा समाचार छ ।