प्रस्तावित सीमांकनमा कैलाली कन्चनपुर र झापा, मोरङ, सुनसरीलाई पहाडसँग मिसाउन नहुने अडान राख्दै आएको फोरम लोकतान्त्रिकले विशेष समितिको बैठक बहिष्कार गरेको छ । दलका अध्यक्ष विजयकुमार गच्छदारले प्रस्तावित सात प्रदेशको नयाँ सीमांकनमा समेत आफ्नो माग सम्बोधन नभएको भन्दै विशेष समिति बैठक बहिष्कार गरेका छन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले गच्छदार सहित सहमति हुने दाबी गरे ।
विशेष समितिको बैठकमा प्रमुख तीन दल कांग्रेस-एमालेले संवाद समितिमा दर्ता गराएको ७ प्रदेशको प्रस्तावमा सहमति नजिक पुगे पनि असन्तुष्टि जनाउदै फोरम लोकतान्त्रिक बैठकबाट बाहिरिएको हो ।
दलका महासचिव रामजनम चौधरीले शीर्ष नेताहरुलाई आफ्ना अध्यक्ष गच्छदारले आजदेखि चारदलीय गठबन्धनमा नरहेको जानकारी दिंदै बाहिरिएको बताएका छन् ।
उहाँहरुले कैलाली र कञ्चनपुरमा एक इन्च पनि तलमाथि नगर्ने, पूर्वमा पनि टसमस नहुने भनेपछि चारदलीय मोर्चामा बस्नुको औचित्य रहेन, चौधरीले ईकान्तिपुरसँग भने, आजदेखि हामी आन्दोलनमा गयौं, उहाँहरु आफ्नो खुसीमा संविधान बनाउनुहोस् ।
चार बजे सिंहदरबारस्थित संसदीय दल कार्यालयमा पत्रकार भेट गरेर फोरम लोकतान्त्रिकले गठबन्धनबाट अलग्गिएको घोषणा गर्ने चौधरीले बताए । ईकन्तिपुरमा समाचार छ ।