टीकापुरमा भारतीय घुसपैठ भएको हुनसक्ने मसालका मोहनविक्रम सिंहको आरोप

कैलालीको टीकापुरमा भएको झडपमा भारतीय घुसपैठ भएको हुनसक्ने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आरोप लगाएका छन् ।
महामन्त्री सिंहले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा ठूलो सङ्ख्यामा भारतीय सेनाका मानिसहरू सिभिल ड्रेसमा सामेल भएको कुरा आम रूपमा थाहा भएको कुरा हो । त्यही प्रकारले नेपालमा तराइमा चल्ने आन्दोलनमा पनि भारतीय घुसपैठको अत्यधिक सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
महामन्त्री सिंहले टीकापुरको आन्दोलनलाई थारुहरुको मात्रै भन्न नसकिने बताउादै त्यसमा विदेशी शक्तिको घुसपैठ हुनसक्ने र पृथकतावादीहरुदे देश टुक्राउनका लागि प्रयोग गर्न सक्ने सिंहले बताएका छन् ।
सिंहले जारी गरेको वक्तव्यमा भनिएको छ, टीकापुरको उग्र प्रदर्शन खाली थारुहरूको मात्र क्रियाकलाप हो भन्न मुश्किल पर्दछ । उनीहरूको माग वा आन्दोलनमा कतिपय अवाञ्छित देशी वा विदेशीशक्तिहरूको घुसपैठले पनि काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको आन्दोलनलाई पृथकतावादी शक्तिहरूले देशलाई टुक्राउनका लागि उपयोग गर्ने सम्भावना पनि रहनेछ ।
यसैबीच गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा बोल्ने क्रममा रौतहटको गौरमा समेत दक्षिण तर्फबाट मानिसहरु आएर सरकारी कार्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् । अन्लाईनखबरमा समाचार छ । 

टिकापुर घटनालाई  कतिपय समुदायको भावनाहरु नसमेटिको पीडाको रुपमा अर्थ: प्रचण्ड

एकीकृत नेकपा माओवादीले कैलालीको टिकापुर घटनालाइ संविधान निर्माण अन्तिम चरणमा पुगेका बेलामा कतिपय समुदायको भावनाहरु नसमेटिको पीडाको रुपमा अर्थ लगाएको छ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गरि जनताको जायज चिन्ता र मागलाइ सम्बोधन गरेर नै यस प्रकारको घटनाहरुलाइ रोक्न सकिने उलेख गरेका छन्। 
पार्टीले कैलाली लगायत देशभर भएका घटनाहरुबाट पार्टी स्तब्ध भएको जनाएको छ।  ‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेको बेला कतिपय समुदायका भावनाहरु अझै समेटिएका छैनन्। त्यसका लागि जनतामा चिन्ता र पीडा देखा पर्नु स्वभाविक हो। जनताका जायज चिन्ता र मागलाई सम्बोधन गरेर नै यस प्रकारका दुःखद् घटनालाई  रोक्न सकिन्छ। हाम्रो पार्टी आन्दोलनरत, जनसमुदाय, राजनैतिक दल र नागरिक समाज सबैमा शान्ति, सद्भाव र एकता बनाई समस्या समाधान गर्न सहयोगका लागि अपिल गर्दछ’, विज्ञप्तीमा भनिएको छ।  
एमाओवादीले कैलाली घटनामा परि निधन भएका सबै प्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति पार्टी गहिरो समवेदना व्यक्त गरेको छ। पहिलोपोष्टमा समाचार छ ।