धौलागिरि अञ्चलबाट प्रतिनिधित्व गर्ने सबै सभासदहरुद्धारा बाग्लुङ जिल्ला विभाजन नगर्न आग्रह

 काठमाडौं  । धौलागिरि अञ्चलबाट प्रतिनिधित्व गर्ने सबै सभासदहरुले बाग्लुङ जिल्ला विभाजन नगर्न आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी धौलागिरिका १४ सभासदले प्रमुख दलका शीर्ष नेताहरुले आफूहरुसँग सल्लाह नै नगरी बाग्लुङ टुक्र्याएको भन्दै उक्त निर्णय सच्याउन माग गरे ।
उनीहरुले पहिचान र सामथ्र्यको आधारमा संघीयताको सीमांकन गर्ने यसअघिको सहमति कुल्चेर दलहरुले बाग्लुङ टुक्र्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । धौलागिरीका जनप्रतिनिधिसँग सल्लाहसमेत नगरी बाग्लुङ टुक्र्याउने निर्णय हुनु दुर्भाग्यपूर्ण भएको भन्दै सभासदहरुले नेताहरुले नसुने सडक आन्दोलन गर्न बाध्य हुने बताए ।
बाग्लुङलाई ४ वा ५ नम्बर प्रदेश जता राखे पनि आपत्ति नहुने तर जिल्ला भने टुक्र्याउन नपाइने सभासदहरुको धारणा थियो ।
यस्तो माग गर्ने सभासदहरुमा अर्जुनप्रसाद जोशी, रत्न शेरचन, श्रीमाया थकाली, प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्का, ज्ञानकुमारी छन्त्याल, नरबहादुर थापामगर, केशरी घर्तीमगर, मीना पुन, रोमी गौचन थकालीलगायत छन् । इमेजखबरमा समाचार छ ।