कैलाली, सर्लाही लगायतका जिल्लामा भइरहेका आन्दोलनमा भारतिय घुसपेठ रहेको भनाइमा भारत सरकारको गम्भिर ध्यानाकर्षण

भारतले दक्षिणी सीमा क्षेत्रका केही जिल्लामा भइरहेका आन्दोलनमा भारतिय समुहको घुसपेठ रहेको भनाइमा आफ्नो सरकारको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय राजदूत रणजित रायले आफ्नो सरकारको ध्यानकर्षण उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई मंगलबार मन्त्रालयमा नै भेटेर ब्यक्त गरेका हुन् । उनले गृहमन्त्री गौतमबाट सोमबार ब्यक्त धारणाले सदियौ देखिको हार्दिक र मित्रबत दुईपक्षीय सम्वन्धमा असझदारी बढाउन सक्ने भन्दै सचेत गराएका थिए ।  
कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसदलाई जानकारी दिदै गृहमन्त्री गौतमले दक्षिणबाट आन्दोलनकारीको घुसपैठ भएको दाबी गरेका थिए । गौर, मलंगवालगायतका ठाउमा दक्षिणतिरबाट ठूलो संख्यामा मानिस प्रवेश गरिरहेको गौतमले बताएको संसदमा रेकर्ड छ । उनको सोही भनाईलाई लिएर राजदूत राय नियमित भेटघाट भन्दै गृहमन्त्रालय पुगेका हुन ।
भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिंदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताइरहेको अवस्थामा यस्तो भनाइले दुई पक्षीय हार्दिक र सदियौंको सम्वन्धमा असर गर्न सक्ने भन्दै कुनैपनि विषय बोल्दा ख्याल गर्न भन्दै गृहमन्त्री प्रति गुनासो गरेको गृहमन्त्रालय उच्च स्रोतले बतायो ।
राजदूत रायले सोमबारको डिनरमा नै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका कामु सचिव शंकरदास बैरागीसमक्ष पनि गृहमन्त्रीको भनाइलाई लिएर छलफल गरेका थिए । तर उनी मंगलबार गृहमन्त्रालय गएको र छलफल भएको विषयमा परराष्ट्रमन्त्रालयले आफूलाई जानकारी नभएको बताएको छ । उनी कूटनीतिक च्यानल प्रयोग नगरि गृह मन्त्रालय गएको र यस विषयमा राजदूतसंग छलफल गरिने परराष्ट्र अधिकारीले बताए ।
गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेमा राजदूत रायलाई ध्यानाकर्षण गराएको जानकारी सरकारी संचारमाध्यममा दिइएको छ । तर, राजदूतले गृहमन्त्रीको अघिल्लो दिनको भनाइप्रति दुतावासको ध्यानकर्षण भएको भन्दै विज्ञप्ती नै जारी गरेको छ । राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने र यसमा भारतले सहयोग गर्ने बताउदै आफूले संसदमा दक्षिण भनेको उत्तर, दक्षिण, पूर्व र पश्चिम सबै तिरबाट अवान्छित ब्यक्ति भन्न खोजेको हो भनेर सम्झाउन खोजेको स्रोतको दावी छ ।
करीव एक घण्टासम्म चलेको वार्तामा राजदूतले सोमवार गौतमले संसदमा दिएको बयानप्रति नै भारत सकारको ध्यानाकृष्ठ भएको बताएका थिए । भेटवारे विज्ञप्ती जारी गरेर दूतावासले दुईपक्षीय सम्वन्धमा समेत खलल पुग्ने अभिब्यक्ति जिम्मेवार ब्यक्तिबाट आउनु दखद भनेको छ । कैलाली लगायतका ठाउँमा भारतीय घुसपैठ भएको भन्ने प्रचारबाजी प्रति राजदूतले आपत्ति जनाएका हुन् । गौतमले आफूले दक्षिणतिरबाट भन्नुको अर्थ भारत नभनेको भन्दै सम्झाउदै उनले इतिहास देखिको कहानी बताएका एक अधिकारीले जानकारी दिए । एक व्यक्ति शासनमा छ भन्दैमा सबै समुदाय शासक हुने र अरु शासित हुने खालको प्रचार भएको भन्दै राजदूतलाई सम्झाउन खोजेका थिए ।  
गृहका अधिकारीहरुसहित भएको उक्त भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । भेटमा आफू पुरा समय नबसेकोले सबै विषयमा भन्न नसक्ने भन्दै उनले अहिलेको समसामयीक विषयमा नै छलफल भएको हुनुपर्ने भने । गृहमन्त्री गौतम पटक पटक को प्रयासमा पनि सम्पर्कमा आउन चाहेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरेर संविधान निर्माण र राजनीतिक स्थायीत्वको लागि सहयोग गर्न भारत तयार रहेको बताएका थिए । ईकन्तिपुरमा समाचार छ ।