भारतले दक्षिणी सीमा क्षेत्रका केही जिल्लामा भइरहेका आन्दोलनमा भारतिय समुहको घुसपेठ रहेको भनाइमा आफ्नो सरकारको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय राजदूत रणजित रायले आफ्नो सरकारको ध्यानकर्षण उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई मंगलबार मन्त्रालयमा नै भेटेर ब्यक्त गरेका हुन् । उनले गृहमन्त्री गौतमबाट सोमबार ब्यक्त धारणाले सदियौ देखिको हार्दिक र मित्रबत दुईपक्षीय सम्वन्धमा असझदारी बढाउन सक्ने भन्दै सचेत गराएका थिए ।
कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसदलाई जानकारी दिदै गृहमन्त्री गौतमले दक्षिणबाट आन्दोलनकारीको घुसपैठ भएको दाबी गरेका थिए । गौर, मलंगवालगायतका ठाउमा दक्षिणतिरबाट ठूलो संख्यामा मानिस प्रवेश गरिरहेको गौतमले बताएको संसदमा रेकर्ड छ । उनको सोही भनाईलाई लिएर राजदूत राय नियमित भेटघाट भन्दै गृहमन्त्रालय पुगेका हुन ।
भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिंदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताइरहेको अवस्थामा यस्तो भनाइले दुई पक्षीय हार्दिक र सदियौंको सम्वन्धमा असर गर्न सक्ने भन्दै कुनैपनि विषय बोल्दा ख्याल गर्न भन्दै गृहमन्त्री प्रति गुनासो गरेको गृहमन्त्रालय उच्च स्रोतले बतायो ।
राजदूत रायले सोमबारको डिनरमा नै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्रका कामु सचिव शंकरदास बैरागीसमक्ष पनि गृहमन्त्रीको भनाइलाई लिएर छलफल गरेका थिए । तर उनी मंगलबार गृहमन्त्रालय गएको र छलफल भएको विषयमा परराष्ट्रमन्त्रालयले आफूलाई जानकारी नभएको बताएको छ । उनी कूटनीतिक च्यानल प्रयोग नगरि गृह मन्त्रालय गएको र यस विषयमा राजदूतसंग छलफल गरिने परराष्ट्र अधिकारीले बताए ।
गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेमा राजदूत रायलाई ध्यानाकर्षण गराएको जानकारी सरकारी संचारमाध्यममा दिइएको छ । तर, राजदूतले गृहमन्त्रीको अघिल्लो दिनको भनाइप्रति दुतावासको ध्यानकर्षण भएको भन्दै विज्ञप्ती नै जारी गरेको छ । राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने र यसमा भारतले सहयोग गर्ने बताउदै आफूले संसदमा दक्षिण भनेको उत्तर, दक्षिण, पूर्व र पश्चिम सबै तिरबाट अवान्छित ब्यक्ति भन्न खोजेको हो भनेर सम्झाउन खोजेको स्रोतको दावी छ ।
करीव एक घण्टासम्म चलेको वार्तामा राजदूतले सोमवार गौतमले संसदमा दिएको बयानप्रति नै भारत सकारको ध्यानाकृष्ठ भएको बताएका थिए । भेटवारे विज्ञप्ती जारी गरेर दूतावासले दुईपक्षीय सम्वन्धमा समेत खलल पुग्ने अभिब्यक्ति जिम्मेवार ब्यक्तिबाट आउनु दखद भनेको छ । कैलाली लगायतका ठाउँमा भारतीय घुसपैठ भएको भन्ने प्रचारबाजी प्रति राजदूतले आपत्ति जनाएका हुन् । गौतमले आफूले दक्षिणतिरबाट भन्नुको अर्थ भारत नभनेको भन्दै सम्झाउदै उनले इतिहास देखिको कहानी बताएका एक अधिकारीले जानकारी दिए । एक व्यक्ति शासनमा छ भन्दैमा सबै समुदाय शासक हुने र अरु शासित हुने खालको प्रचार भएको भन्दै राजदूतलाई सम्झाउन खोजेका थिए ।
गृहका अधिकारीहरुसहित भएको उक्त भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । भेटमा आफू पुरा समय नबसेकोले सबै विषयमा भन्न नसक्ने भन्दै उनले अहिलेको समसामयीक विषयमा नै छलफल भएको हुनुपर्ने भने । गृहमन्त्री गौतम पटक पटक को प्रयासमा पनि सम्पर्कमा आउन चाहेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरेर संविधान निर्माण र राजनीतिक स्थायीत्वको लागि सहयोग गर्न भारत तयार रहेको बताएका थिए । ईकन्तिपुरमा समाचार छ ।