कैलालीको टीकापुरमा अनिश्चितकालिन कर्फ्यु जारी हुँदा स्थानीय प्रशासनले सदरमुकाम धनगढीमा बुधबार (आज) बिहान ११ बजेदेखि लागू हुने गरी पुनः कर्फ्यु आदेश जारी गरेको छ ।
११ बजेदेखि साँझ ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो । धनगढीमा मंगलबार बिहानदेखि लगाइएको कर्फ्यु साँझ ७ बजे हटाइएको थियो ।
कर्फ्यु हटेसँगै बजारमा सामान किन्न स्थानीयको घुईंचो लागेको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरेका दुई नगरपालिका र नौ वटा गाविसमा लगाइएको अनिश्चितकालीन कर्फ्यु तेस्रो दिन आज पनि जारी छ ।
टीकापुर र भजनी त्रिशक्ति नगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, खैलाड, लालबोझी र थापापुरमा लगाएको कफ्र्युलाई निरन्तरता दिइएको छ ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । सोमबार टीकापुरमा भएको हिंसात्मक घटनापछि असमान्य बनेको कैलालीको जनजीवन अहिले पनि सामान्य हुन सकेको छैन ।
निरन्तरको कफुर्य र सम्भावित झडपको भयले जनजीवन निकै आतकिंत भएको छ । टीकापुर र धनसिंहपुरका केही स्थानमा मंगलबार देखि स्थिति असमान्य बन्दै गएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
उता, आन्दोलनरत थरुहट पक्षधरले कर्फ्यु लागेको बेला टीकापुरमा थारुहरुको घरमा आगजनी भएको प्रति आपत्ति जनाएको छ । थरुहट/थारुवान संयुक्त संघर्ष समिति र रानाथारु संयुक्त संघर्ष समिति कैलाली-कञ्चनपुरले संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरी घटनाको भत्र्सना गरेको हो ।
उता, प्रभावित क्षेत्रहरुमा नेपाली सेनासँगै सशस्त्र प्रहरीले पनि गस्ती जारी राखेको छ ।
टीकापुर हिंसामा सोमबार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित सात प्रहरी र एक बालकको मृत्यु भएको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ३५ जना घाइते भएका थिए ।
स्थानीय प्रशासनले उत्तेजित नहुन र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको छ । इमेजखबरमा समाचार छ ।