अबिरल बर्षासँगै हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुरको अधिकांश क्षेत्र डुवानमा
भाद्र १० गते, २०७२ मा प्रकाशित
भक्तपुर । बुधबार राती परेको अबिरल बर्षासँगै हनुमन्ते खोलामा बाढी आउँदा भक्तपुरको अधिकांश क्षेत्र डुवानमा परेको छ ।
भक्तपुरको च्यामासिंह-जगाते सडकखण्डअन्तर्गत खोला किनारका दायाँ बायाँका घर डुवानमा परेका हुन् ।
यहाँका घरघरमा पानी पस्दा घरभित्रका सामानमा क्षति पुगेको छ । बाढीले महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडित अस्थायी शिविर समेत डुवानमा परेको छ ।
यो क्षेत्रमा तीन फिट भन्दा बढी पानी जमेको छ । यहाँ भक्तपुर र सिन्धुपाल्चोकका ८ सय ५० जना भन्दा बढी भूकम्प पीडितले आश्रय लिइरहेका छन् ।
उता, भक्तपुरकै सिद्धि स्मृति बाल अस्पताल पनि डुवानमा परेको छ । अस्पतालभित्रै हनुमन्ते खोला प्रवेश गरेपछि अहिले बिरामीलाई माथिल्लो तल्लामा राखेर उपचार भइरहेको छ ।
यस्तै भक्तपुरकै राममन्दिर एरिया, भेलुखेल, सिर्जनानगर तथा राधे-राधे क्षेत्र समेत डुवानमा परेको छ । उता, अबिरल बर्षासँगै अरनिको राजमार्गको साँगा भञ्याङमा पहिरो जाँदा राजमार्ग अबरुद्ध बनेको छ ।
यसैबीच बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर एउटा जंगली हात्तीको मृत्यु भएको छ । इमेजखबरमा समाचार छ ।