टीकापुरमा भएको हिंसात्मक घटनापछि कैलालीमा शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्र र टिकापुरमा आज पनि निषेधाज्ञा लगाएको छ ।
आज बिहान ११ देखि साँझ ६ बजेसम्मको समयमा धनगढी नगर क्षेत्रमा निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यसअघि बुधबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा साँझ ६ बजे फुकुवा गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले सामाजिक सद्भाव र मेलमिलाप कायम गराउन सहयोग गर्न सबैलाई अपिल गरेका छन्। लगातार लगाइएको निषेधाज्ञाका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। रासस
टिकापुर झडपमा परी गम्भीर घाइते प्रहरी हवल्दारको निधन
टीकापुरको हिंसात्मक झडपमा परी घाइते भएका एक प्रहरी हवलदारको उपचारको क्रममा मृत्यु भएको छ। कञ्चपुर झलारी-७ निवासी जनक नेगीको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँले जानकारी दिए।
उनका अनुसार नेगीको बुधबार राति मृत्यु भएको हो। उनीसँगै प्रहरी अस्पतालमा पाँच जना उपचाररत थिए। बाँकी चार जनाको उपचार प्रहरी अस्पतालमै भइरहेको छ।
चापागाईँका अनुसार पक्राउ परेकाहरुके बयानका आधारमा टीकापुर घटनामा संल्गन रहेको एक जनालाई पक्राउ गरिएको छ। मनुवा-७ निवासी महाराजा रानालाई प्रहरीले घेरा हाली पक्राउ गरेको उनले बताए। नागरिकन्युजमा समाचार छ ।