चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० हजार अमेरिकी डलर, ७६ हजार युरोप र ४८ हजार स्वीस फ्रेन्क सहित पक्राउ
भाद्र ११ गते, २०७२ मा प्रकाशित
काठमाडौं । विभिन्न मुलुकका मुद्रा अवैद्यरुपमा चीनतर्फ लैजान लागेको अवस्थामा प्रहरीले एक चिनियाँ नागरिकलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
काठमाडौंबाट ल्हासा जान लागेका चिनियाँ नागरिक इ वाङका साथबाट प्रहरीले ६० हजार अमेरिकी डलर, ७६ हजार युरोप र ४८ हजार स्वीस फ्रेन्क बरामद गरेको हो । विमानस्थलमा चेकजाँच गर्नेक्रममा प्रहरीले ठूलो मात्रामा विदेशी मुद्रासहित इ वाङलाई पक्राउ गरेको हो ।
उनले लिएको व्यागेज चेकजाँच गर्दा खैरोरंगको सुटकेशमा २० ओटा चुरोटको प्याकेटभित्र खिल्ली सुर्ती निकाली डलर बेरेको र लगाएको चप्पलभित्र विभिन्न देशका मुद्रा लुकाइ-छिपाइ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
पक्राउ परेका वाङले आफू कपडा व्यापारी भएकाले डलर साटेर लैजान लागेको बयान दिएका छन् । उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वाङलाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व विभाग पठाएको छ ।
यसैगरी, विमानस्थल प्रहरीले मलेसियाबाट काठमाडौं आएको नेपाल एअरलाइन्सको विमानमा लुकाएर ल्याइएको झन्डै ३ सय ७० ग्राम सुन बरामद गरेको छ ।
प्रहरीले ताप्लेजुङ फाकुम्वाका ३६ वर्षीय चन्द्र लिम्बु र चितवन रत्ननगर नगरपालिकाका ४३ वर्षीया शोभा तामाङलाई विमानस्थलको ट्याक्सी पार्किङअगाडिबाट सुनसहित पक्राउ गरेको हो । इमेजखबरमा समाचार छ ।