दुई साता लामो बन्दका कारण तराईका जिल्लाको जनजीवन निक्कै कष्टकर

संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिले गरेको दुई साता लामो बन्दका कारण तराईका जिल्लाको जनजीवन निक्कै कष्टकर बनेको छ ।
थरुहट संघर्ष समितिको आन्दोलन १९ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन शनिबार १५ औं दिनमा पुगेको छ ।
दिनभरी ज्यालादारी गरेर गुजारा चलाउनेहरु बन्दका कारण आम्दानी ठप्प भएपछि उपभोग्य बस्तुको भाउं महंगिएपछि समस्यामा परेका छन् ।
बन्दकर्ताले पेट्रोल पम्पहरु समेत खुल्न नदिंदा बजारमा इन्धन अभाव संगै कालोबजारी निक्कै बढेको छ । जनकपुरका सडकमा मिनरल वाटरका बोतलमा पेट्रोल प्रतिलिटर १ सय ५० रुपैंयाका दरले बिक्रि हुने गरेको छ ।
उता, संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिले शनिबार बन्द केही खुकुलो पारेका छन् । शनिबार जनैपूर्णिमा तथा रक्षा बन्धन परेकोले आन्दोलनकारीले सर्वसाधारणलाई मध्य नजर गर्दै बजार खोल्न दिएका हुन् ।
थरुहट संघर्ष समितिको आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बांके, बर्दियालगायतका जिल्लामा बन्द र प्रदर्शन जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलनका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
 बन्दका कारण जनैपूर्णिमा र रक्षा बन्धन पर्व मनाउंन टाढा टाढा जानुपर्ने सर्वसाधारण मारमा परेका छन् ।
लगातारको बन्दका कारण आजित भएपछि यि जिल्लाहरुमा स्थानिय आफैंले केही स्थानमा बजार खुलाए पनि यातायातका साधन भने संचालन हुन सकेको छैन ।
राजमार्गमा एस्कर्टिङ गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइए पनि प्रदर्शनकारीले त्यसमा पनि अवरोध पुर्‍याउने कोशिस गर्दै आएका छन् । जसले गर्दा स्थानिय खुलेर आवत जावत गर्न सकेका छैनन् । इमेजखबरमा समाचार छ ।