ताप्लेजुङ सदरमुकामदेखि तीन दिनको पैदल यात्रामा पुग्न सकिने ओलाङ्चुङ्गोलाको पूरै बस्ती पहिरोको जोखिममा परेको छ।
यस गाविसको पूरै बस्ती एकैठाउँ रहेको र बस्तीमुनिबाट बग्ने तमोर नदीको कटानका कारण पहिरो खस्न थालेपछि ६५ घर रहेको यो बस्तीसँगै करिब ४०० वर्षभन्दा पुरानो इतिहास बोकेको दिकिछ्योलिङ गुम्बा जोखिममा परेको हो।
पहिरो खस्न थालेको लामो समय भए पनि तमोर नदीको किनारमा पहिरो रोक्न हालसम्म कुनै प्रयास नहुँदा वर्षात्को समयमा यहाँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य रहेका छन्।
चीनको तिब्बत जाने नाकामा रहेको यो पर्यटकीय क्षेत्रमा निरन्तर पहिरो खस्ने र बाटो पनि साँगुरो र मर्मत नहुँदा पर्यटकको सङ्ख्या पनि घट्दै गएको स्थानीयवासी डिकी शेर्पाले बताइन्।
पहिरो रोक्न ठूलो लगानी गर्नुपर्ने र बस्ती सार्न आवश्यक रहेको भन्दै जिल्लाका राजनीतिक दलले केही वर्षअघिदेखि बताउँदै आए पनि सरकारी निकायको चासो नहुँदा स्थानीयवासी पहिरोले घर तान्न लाग्दासमेत विकल्प नहुँदा जोखिमपूर्ण जीवन बिताउन बाध्य बनेका छन् ।
यता केही दिनअघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, ताप्लेजुङ र जिल्ला भूसंरक्षण कार्यालयले संयुक्त रुपमा तयार गरेको एक अध्ययन प्रतिवेदनले सो गाविस र नगरपालिकासहित २३ वटा गाविस पहिरोको उच्च जोखिममा रहेको जनाएको छ। रासस