काठमाडौं । प्रदेशको सीमांकनको विरोध गर्दै लिएर सोमबार पनि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । आन्दोलनरत विभिन्न दल र समूहहरुले विभिन्न जिल्ला बन्द आह्वानसमेत गरेका छन् ।
संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । राजविराजबाट काठमाडौं आउँदै गरेको माइक्रोबसका यात्रुलाई ओरालेर बिहान आगजनी गरिएको हो ।
यसैगरी, मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराजस्थित एक नम्बर नापी टोलीको कार्यालयको बोर्ड र फर्निचरमा आगजनी गरेका छन् ।
उता, थरुहट संघर्ष समितिको आन्दोलन २१ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन १७औं दिनमा पुगेको छ । बन्दले सर्वसाधारण, मजदुर, व्यवसायी मारमा परेका छन् ।
लगातारको बन्दले तराईका जिल्लाहरुमा इन्धन अभाव देखिएको छ भने कालोबजारी बढेको छ । थरुहट संघर्ष समितिको आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा बन्द र प्रदर्शन जारी छ ।
संयुक्त मधेसी मोर्चाको आन्दोलनका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
थारु कल्याणकारिणी सभाले आह्वान गरेको चितवन बन्द दोस्रो दिन पनि जारी छ । बन्दले यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प छन् ।
चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा थारुसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै उनीहरु आन्दोलित बनेका हुन् । इमेज खबरमा समाचार छ ।