प्रदेश सीमाङ्कनको विरोधमा मुलुकभर हिंसा जारी: वीरगन्जमा प्रहरीको गोलीलागी एकको मृत्यु, प्रहरीबिट सहित दर्जनौं ठाउँमा आगजनी, तनावग्रस्त

वीरगन्जमा प्रहरीको गोलीलागी एक युवाको मृत्यु भएको छ। कर्फ्यु पछि भएको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा वीरगन्जको राघेमाइ टोलमा घाइते भएका दिलिप चौरसीयाको मृत्यु भएको हो।
 
गोली लागि घाइते भएका चौरासियाको नारायणी उपक्षेत्रीय आस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले जानकारी गराएका छन्। पर्साको मनियार गाविस बस्ने दिलिप चौरसियाको छातीमा गोली लागी घाइते भएका थिए।मृतक चौरसिया फोरम नेपालका इकाइ समिति सदस्य रहेको फोरम नेपाल पर्साले जनाएको छ।
 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा वीरगन्ज भएको प्रदर्शनमा प्रहरी र बन्द आह्वानकर्ताबीच पटकपटक झडप भएपछि स्थानीय प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लगाएको थियो। वीरगन्जका विभिन्न स्थानमा भएका झडपमा प्रहरीको गोली लागेर आठ वर्षीय बालक सहित आधा दर्जन भन्दा बढि  घाइते भएका छन्। झडपमा मोर्चाका अन्य ८ जना कार्यकर्ता घाइते भएका छन्। प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर ६ जना प्रहरी घाइते भएको प्रहरीले बतायो। प्रशासनले कर्फ्यु लगाए पनि आन्दोलनकारीले अवज्ञा गर्दै प्रदर्शन गरेका थिए। उनिहरुले नगरका विभिन्न स्थानमा टायर बालेर नाराबाजी गरि घण्टाघर, घडिअर्वा, रानीघाट, मुर्ली, भिषुवा, छपकैयाचौकलगायत स्थानमा प्रदर्शन गरे। साँझसम्म प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। उनिहरुले स्थानीय गण्डक, रानीघाट र अशोकवाटिका स्थित प्रहरी चौकीमा आगजनी गरेका छन्। पर्साको एमाले पार्टी कार्यालयमा पनि आगो लगाएका छन्। वीरन्ज तनावग्रस्त बनेको छ।
 
त्यसअघि अपरान्ह वीरगञ्जको घण्टाघरमा प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् भने नगवामा एक जनालाई गोली लागेको छ। गोली लागेर स्थानीय जाकिर मिया र राजकुमार सोनार घाइते भएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए। मियाको घाँटीमा गोली लागेको छ। नगवामा भएको झडपमा कृष्णकुमार पटेललाई गोली लागेको छ। घाइतेहरुको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।  
 
प्रशासनले अर्को आदेश नभएसम्म त्रिभुवन राजपथअन्तर्गत परवानीपुर, गण्डक, पावरहाउस, घण्टाघर, माइस्थान, भन्सार क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरेको छ। त्यसैगरी पदमरोडको जिल्ला विकास समिति क्षेत्र, रानीघाट, आदर्शनर, छपकैया र बाइपास सकडखण्डको नगावा, नयाँ बसपार्क, प्रतिमाचोक क्षेत्रमा स्थानमा पनि कर्फ्यु लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए।
 
प्रदेश सीमाङ्कनको विरोधमा मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई-मधेस बन्दको १६ औं दिन मोर्चाका शीर्ष नेताहरु वीरगञ्जमा आएपछि आन्दोलन चर्किएको हो। सोमबार अपरान्ह सुरुमा नगवाचोकमा झडप भएको थियो। प्रदर्शनकारीले सडकमा अवरोध गरी प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए। प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइ फायर गरेको थियो। प्रदर्शनकारीले विभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेका छन्। नापी कार्यालय र घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालय, जिल्ला विकास समिति र सिचाईं कार्यालयमा तोडफोड गरेका छन्। छपकैयास्थित पूर्वप्रधानमन्त्री स्वार्गीय गिरीजाप्रसाद कोइरालाको शालिकसमेत तोडफोड गरेका छन्।
 
उता बाराको कलैयामा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले ३ राउण्ड हवाइ फायर सहित तीन दर्जन राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ। प्रदर्शनमा सङ्घीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, जिल्ला अध्यक्ष रामबाबु यादव, सद्भावना जिल्ला अध्यक्ष महमद सफिक अन्सारीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन्। सेतोपाटीमा समाचार छ ।