बर्दिया । आन्दोलनकारीसँगको झडपमा घाइते भएका बर्दिया मैनापोखरका एक प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ ।
रात्रिकालीन सेवाको बसको विषयलाई लिएर प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा घाइते भएका बर्दिया मैनापोखरका प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो ।
अत्याधिक रक्तश्राव भएपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए । स्कर्टिङमा रहेका दुईओटा रात्रि बसमा आन्दोलनकारीले रोकेर आगजनीको प्रयास गरेपछि प्रहरीले प्रतिकार गरेको थियो ।
ठूलो संख्यामा रहेका आन्दोलनकारीलाई भगाउन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो । थरुहट र थारुवानका कार्यकर्ताले सीमांकनको विरोधमा चर्काएको आन्दोलनका बेला गाडी चलाएको भन्दै उनीहरुले आगजनीको प्रयास गरेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । इमेजखबरमा समाचार छ ।