प्रमुख चार दलद्धारा आन्दोलनरत् दल तथा समूहहरुलाई वार्ताका लागि आह्वान

काठमाडौं  । प्रमुख चार दलले आन्दोलनरत् दल तथा समूहहरुलाई वार्ताका लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको चार दलको बैठकले सबै विषयमा छलफलका लागि तयार रहेको भन्दै वार्तामा बस्न मधेसी मोर्चा र थारुवान-थरुहट संघर्ष समितिलगायतका दल तथा समूहहरुलाई आग्रह गरेको हो ।
बैठकले संविधान लेखनको प्रक्रिया पनि नरोक्ने निर्णय गर्दै आफ्ना मागहरु संशोधन प्रस्तावमार्फत् संविधानसभामा राख्न आन्दोलनरत् पक्षहरुलाई आग्रह गरेको छ ।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संशोधन प्रस्ताव राखेपछि सबै विषयमा सहमति खोज्न सकिने भन्दै संविधान लेखनको प्रक्रिया नरोकिने बताए ।
यस्तै, गृहमन्त्री बामदेब गौतमले कुनै पनि बहानामा संविधान लेखनको प्रक्रिया नरोकिने बताए ।
उनले सबै विषयमा सबै पक्ष सन्तुष्ट हुने गरी संविधान जारी हुनै नसक्ने भन्दै शान्ति सुरक्षा कायम राख्ने क्रममा प्रहरीले गोली चलाउनु स्वभाविक भएको जिकिर गरे । संविधान जारी हुन नदिने उद्देश्यका साथ मधेसमा आन्दोलन भइरहेको गृहमन्त्री गौतमको दाबी थियो ।
विहीबारको बैठकमा नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी थिए । इमेजखबरमा समाचार छ ।