काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरुबीच संविधानको विधेयक संशोधनको प्रस्ताव संयुक्तरुपमा लैजान सैद्धान्तिक सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले संविधानको विधेयक संशोधनको प्रस्ताव संयुक्तरुपमा दर्ता गर्ने सहमति गरेको हो ।
संशोधनको प्रस्ताव तयार पार्न अपराह्न पुनः संयुक्त बैठक गर्ने सहमति पनि भएको छ । बैठकपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले विवादित सबै विषयको टुंगो शनिबारै लाग्ने बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने संशोधन प्रस्ताव दर्ता गर्ने समय केही दिन बढाउन प्रस्ताव गरेका छन् । तर, गच्छदारको प्रस्तावलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले संशोधन प्रस्ताव दर्ता गर्ने समय केही दिन लम्ब्याउन आफूले माग गरेको बताए ।
संघीयताको सीमांकनका विषयलाई लिएर विभिन्न क्षेत्रमा प्रदर्शन चर्किंदै गएपछि दलहरुले आन्दोलित दल र समुदायका माग सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनको संयुक्त प्रस्ताव तयार पार्न लागेका हुन् । इमेजखबरमा समाचार छ ।