काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरुलाई वितरण गरिएको त्रिपालमा भ्रष्टाचार गरेको ठहर गर्दै शहरी विकास मन्त्रालयका उपसचिवसहित आठ जना विरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । शहरी विकास मन्त्रालयका उपसचिवद्वय होमनाथ भट्टराई र रामकृष्ण गुरागाई तथा सोही मन्त्रालयका नायव सुब्बा युवराज गिरी, उद्योग वाणिज्य महासंघका निर्देशक हंसराम पाण्डेय, लक्की एस इन्टर प्राइजेजका प्रोप्राइटर सुनिलकुमार गौतम, दीपकिरण प्रिन्टिङ एण्ड ट्रेडर्सका रामशरण कुँवर, माता इन्टरप्राइजेजका प्रोप्राइटर कृष्णहरि चौलागाई र अजयशुभ ट्रेडर्सका प्रोप्राइटर मोतीलाल पोखरेल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
यस्तै अख्तियारले शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ भने शहरी विकास मन्त्रालयका सहसचिव बासुदेव गुरागाई, भवन निर्माण विभागका तत्कालीन महानिर्देशक शम्भु केसी र सदस्यद्वय निलमकुमार डंगोल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलालाई पनि विभागीय कारबाही गर्न निर्देशन दिएको छ ।
उनीहरुले भूकम्प पीडितका लागि त्रिपाल खरिद गर्दा दश करोड रुपैयाँ भन्द्या बढीको अनियमितता गरेको अभियोग अख्तियारले लगाएको छ । इमेजखबरमा समाचार छ ।