भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी

भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी भएका छन् । यहाँ एकपछि अर्को विद्यार्थी बिरामी परेको हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक रामकुमार घलेले जानकारी दिए। हिमालय उमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् । 
 
विगत एक सातादेखि विद्यार्थी बिरामी हुने समस्या देखिएको शिक्षकको भनाइ छ । पढिरहेको अवस्थामा विद्यार्थी बेहोस हुने समस्या देखापरेको हो । छात्रामा बेहोस हुने समस्या देखापरेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताउनुभयो । अहिलेसम्म कक्षा १० मा पढिरहेकी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङलगायत विद्यार्थीमा बेहोस हुने समस्या देखापरेको छ ।