काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक औपचारिकरुपमै संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई मंगलबार ज्ञापनपत्र बुझाएर फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएको हो ।
संविधानसभाबाट संविधान जारी गर्न आफूहरु अझै पनि दृढ रहेको भएपनि आफूहरुका मागको सुनुवाइ नभएका कारणले संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिएको फोरम लोकतान्त्रिकले स्पष्ट पारेको छ ।
संविधानसभाका अध्यक्षसँगको भेटपछि सिंहदरबारमा सन्चारकर्मीहरुसँग कुरा गर्दे फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तराई मधेसमा मुठभेड र दंगा हुँदासमेत आन्दोलनकारी मागहरुलाई सम्बोधन नगरी जारी भएको संविधान स्वीकार्य नहुने चेतावनी दिए ।
यो देशलाई मुठभेडबाट जोगाउन आफ्नो अझै पनि प्रयास जारी रहने गच्छदारले स्पष्ट पारे ।
१६ बुँदे सहमतिबाट पछि हटेका कारण यो अवस्था आएको भन्दै गच्छदारले भने- पहिला ८ प्रदेश, मेरो असहमतिका बीचमा ६ प्रदेश, फेरि ७ प्रदेश यति भइसकेपछि ८ प्रदेश किन बनाइएन, ८ प्रदेश बनाएपछि मात्रै सहमति हुन्छ ।