काठमाडौं । यातायात व्यवस्थापन विभाग र यातायात व्यवसायीले २ दशमलव २२ प्रतिशत सार्वजनिक यातायात भाडा घटाउने सहमति गरेका छन् ।
विभाग र व्यवसायीले वैज्ञानिक भाडादर समायोजन गरिएको दाबी गरेका छन् । बुधबार भएको सहमतिअनुसार काठमाडौं उपत्यकामा न्यूनतम १३ रुपैयाँ भाडादर कायम हुनेछ भने लामोदुरीमा पनि २ दशमलव २२ प्रतिशत घट्ने छ ।
काठमाडौं उपत्यकामा यसअघि सरकारले न्यूनतम १३ रुपैयाँ नै तोकेको भएपनि व्यवसायीहरुले १४ रुपैयाँ तोकेका थिए भने यात्रुसँग १५ रुपैयाँ उठाउँदै आएका थिए ।
नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेपछि लागू हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हामीसँग बताए ।
व्यवसायीहरुले न्यूनतम १३ रुपैयाँ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, सहमतिअनुसार तराईतर्फ मालबाहक गाडीमा ३ दशमलव २४ प्रतिशत र पहाडमा ३ दशमलव एक शून्य पाँच प्रतिशत घटाइएको छ । ट्याक्सीमा भने १ दशमलव ६३ प्रतिशत घटाइएको छ । नयाँ भाडादर छिट्टै लागू हुने विभागले जनाएको छ । इमेजखबरमा समाचार छ ।