तीन दलका शीर्ष नेताले संयुक्त रुपमा पत्राचार गरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई संंविधान निर्माणको प्रकृयामा फर्कन आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पत्राचार गरेका हुन्।
लामो समयदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिहरुद्वारा संविधान निर्माण होस भनेर राखेको चाहना अनुरुप संविधान निर्माणको प्रकृया निर्णायक चरणमा पुगेको उल्लेख गर्दै संविधान निर्माणबाट अलग नहुन आग्रह गरेका छन्।
पत्रमा भनिएको छ,’संविधान निर्माणको यस ऐतिहासिक क्षणमा कुनै पनि राजनीतिक दल र सभासद्ले संविधान निर्माणको प्रकृयाबाट आफूलाई अलग राख्नु हामी कसैको लागि पनि सुखद् हुन सक्दैन।’
पत्रमा विगतका अनुभवहरुको समिक्षा गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरी राष्ट्रहितको पक्षमा निरन्तर क्रियाशील रहनु सबैको साझा कर्तब्य भएको उल्लेख गरिएको छ।
पत्रमा उल्लेख छ,’आफ्नो गम्भीर वैचारिक मतभेदका बावजूद लोकतान्त्रिक विधि र प्रक्रियाप्रति तपाईँ र तपाईको पार्टीले देखाउदै आएको प्रतिबद्धताको हामी सराहना गर्दछौ, यसर्थ संविधान निर्माणको यस निर्णायक घडीमा विगतदेखिको सहभागितालाई निरन्तरता दिनको लागि यहाँहरुले केही समय अगाडि लिनु भएको निर्णयमा पुनर्विचार गर्नुहुने हामीले अपेक्षा गरेका छौँ।’
शीर्ष तीन नेताद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,’संविधान निर्माणको प्रक्रियामा निरन्तर सहभागी हुन हामी तपाई्रं र तपाईँको पार्टीलाई आग्रह गर्दछौँ।’
बिहीबार दिउँसो बसेको प्रमुख चार दलको बैठकमा राप्रपा नेपालका अध्यक्ष थापाले लिखित पत्र पठाउन अाग्रह गरेपछि तीन दलका शीर्ष नेताले पत्राचार गरेका हुन्। सेतोपाटीमा समाचार छ ।