हिमाली जिल्ला सोलुखुम्बुलाई शेर्पा प्रदेश बनाउन माग गर्दै शेर्पाहरुले आइतबार सोलुखुम्बुसहित ६ जिल्ला बन्द गराएका छन्। बन्दका कारण जनजीवन प्रभावित भएको छ।
हालसम्म बन्द हड्ताल नभएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा शेर्पाहरुले पहिलो पटक बन्द गराएका हुन्। बन्दका कारण यातायात तथा विद्यालय संचालन भएनन्। बिशेष गरी सदरमुकाम सल्लेरीका होटल लज तथा पसलहरु बन्द रहेका छन् भने सल्लेरीबाट काठमाडौं तथा अन्य स्थानका लागि छुट्ने सवारी साधनहरु छुट्न सकेका छैनन् । सडकमा बिहानैदेखि मोटरसाइकलसमेत गुड्न सकेको छैन्। सोलुखुम्बुलाई पुर्ण रुपमा बन्द गराइएको यो पहिलो पटक हो।
बिहानैदेखि बौद्ध धर्मावलम्बी, शेर्पा समुदाय आफ्नो भेषमा सडकमा उत्रिएका थिए । अहिले पनि चोक चोकमा भेला भएर शान्तिपुर्ण रुपमा नारा जुलुस गरिरहेका छन् । बन्दका कारण सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु बिमानस्थलमा अबतरण गरिएको नेपाल एयरलाइन्सको टुइनअटर बिमानमा पेट्रोल बम प्रहार गर्ने प्रयास गरेका थिए। बिमानस्थल नजिकै रहेको सडकमा नाराबाजी गर्न थाले पनि प्रहरी निरीक्षक कुन्दन देबको कमाण्डमा नेपाल प्रहरी खटिएको थियो। बन्दका कारण आज बुबाको मुख हेर्ने दिन आफन्त र माइत जान लागेका महिलाहरु समेत पैदल यात्रा तय गरेका छन्। बन्दका कारण वित्तीय सस्थाहरु समेत संचालन भएका छैनन् । बन्द तथा नारा जुलुसलाई मध्यनजर गरेर सुरक्षा व्यबस्था कडा पारिएको प्रहरीले जनाएको छ । नागरिकन्युजमा समाचार छ ।