नयाँ संविधान असोज ३ गते साँझ ५ बजे संविधानसभामा हुने समारोहमार्फत् राष्ट्रपति डा. रामवरण यादवले जारी गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तयार पारेको छ। जारी भएकै दिनदेखि लागू हुने नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा उल्लेख भए अनुसार असोज १० गते इन्द्रजात्राको दिनसम्म नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनुपर्नेछ।
संविधानको परिमार्जित विधेयकको धारा २९२ मा संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ।
अहिले संसदको अधिवेशन चलिरहेको स्थिति भएकोले असोज ३ अघि नै प्रधानमन्त्रीले पत्र पठाएर राष्ट्रपतिले अधिवेशन अन्त्य नगरेसम्म असोज १० गतेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ।
राजनीतिक सहमति कायम हुन नसके संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था धारा २९२ को उपधारा २ मा उल्लेख गरिएको छ। राजनीतिक सहमति नभएमा कहिलेसम्म बहुमतीय प्रधानमन्त्री निर्वाचित गर्ने भन्ने बारे म्याद संविधानमा तोकिएको छैन।
राष्ट्रपति/उपराष्ट्रपति एक महिनामा
नयाँ संविधान लागू भइसकेपछि कात्तिक ३ गतेभित्र राजनीतिक सहमतिका आधारमा नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नुपर्ने व्यवस्था संविधानमा छ। राजनीतिक सहमति हुन नसके बहुमतका आधारमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ।
त्यसैगरी नयाँ संविधान लागू भइसकेपछि २० दिनभित्र नयाँ सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
नयाँ राष्ट्रपति/उपराष्ट्रपतिको पदावधि नयाँ संविधान अनुसारको केन्द्रीय संसद र प्रादेशिक संसदको निर्वाचन भएर त्यस अनुसार निर्वाचक मण्डलबाट अर्को राष्ट्रपति वा उपराष्ट्रपतिबाट निर्वाचित भई कार्यभार नसम्हालेसम्म कायम रहनेछ।
नयाँ प्रधानमन्त्रीको कार्यकाल नयाँ संविधान अनुसार नयाँ निर्वाचन भएर त्यस अनुसार नयाँ प्रधानमन्त्री निर्वाचित नभएसम्म हुनेछ। पहिलोपोष्टमा समाचार छ ।