नेपालको संविधानको पारित विधेयकमा भएका भाषागत त्रुटी र क्रमसंख्या मिलाउन बनाइएको आनुषाङ्गिक समितिले आफ्नो प्रतिवेदन संविधान सभा अध्यक्ष सुवास नेम्वाङसमक्ष बुझाएको छ।
प्रतिवेदन बुझ्दै सभाध्यक्ष नेम्वाङले प्रतिवेदन अनुसार त्रुटी सच्याइ धारा, उपधारा र खण्डमहरको क्रमसंख्या मिलाउन संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्। संविधान सभाका सबै धारा, प्रस्तावना र अनुसूचीहरु पारित भएपछि संविधान सभाले भाषागत त्रुटी सच्याउन र क्रमसंख्या मिलाउन समिति बनाएको थियो। उक्त समितिले बिहीबार साँझ सभाध्यक्ष नेम्वाङसमक्ष प्रतिवेदन बुझाएको हो।
सचिवालयले अब प्रतिवेदन अनुसार भाषा तथा क्रमसंख्या मिलाएर शुक्रबार ५ प्रति संविधान छाप्नेछ। छापिएका प्रतिहरुमा संविधान सभा सदस्यहरुले शुक्रबार नै हस्ताक्षर गर्नेछन्। शुक्रबार साँझ पाँच बजे सभाध्यक्ष नेम्वाङले हस्ताक्षर गरी प्रमाणीत गर्ने छन्।
अध्यक्ष नेम्वाङले प्रमाणित गरेको प्रतिहरुमा शनिबार राष्ट्रपति डा. रामवरण यादवले हस्ताक्षर गर्ने कार्यक्रम पनि तय भएको छ। राष्ट्रपति यादवले नियमावली अनुसारको ढाँचामा संविधानका प्रतिमा हस्ताक्षर गर्नेछन् र संविधानका यी ५ प्रति आइतबार संविधान सभा भवनमा आयोजना हुने विशेष समारोहमा जारी गरिने छ।
संविधान जारी गर्ने कार्यक्रममा राष्ट्रपतिले संवोधन गर्ने कार्यक्रम भने छैन। सेतोपाटीमा समाचार छ ।