नेपालको संविधान घोषणाका निम्ति आज आइतबार भव्य राष्ट्रिय समारोह आयोजना गर्ने तयारी छ ।
संविधानसभा सचिवालयले साँझ संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना गर्ने समारोहमा राष्ट्रपति रामवरण यादवले संविधान प्रारम्भ भएको घोषणा गर्नेछन् । उक्त घोषणासँगै जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनमा आउनेछ । र, नेपालको अन्तरिम संविधान २०६३ खारेज हुनेछ ।
संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु, भन्ने बेहोरामा राष्ट्रपतिले हस्ताक्षर गरी राष्ट्रपति कार्यालयको छाप लागेपछि संविधान निर्माणको सम्पूर्ण प्रक्रिया पूरा हुन्छ । संविधानसभाले भदौ ३० मै पारित गरेको नेपालको संविधान को मूलप्रति सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबारै प्रमाणित गरेका छन् ।
हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता…..संघीय लोकतान्त्रिक गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित यो संविधान जारी गर्दछौ, संविधानको प्रस्तावनामा छ । ३७ भाग, ३०८ धारा र ९ अनुसूचीको संविधान नेपालको संवैधानिक इतिहासकै बृहत् सर्वोच्च कानुन हो ।
संविधानसभा सचिवालयले संविधान घोषणासभालाई ऐतिहासिक र भव्य बनाउने तयारी गरेको छ । विशेष समारोहमा उपस्थितिका लागि नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरू, संवैधानिक निकायका प्रमुखहरू, प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू, पहिलो संविधानसभाका सदस्य, सञ्चारकर्मी र नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई प्रतिनिधिका रूपमा निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ । दुलहीझैं सिँगारिएको संविधानसभा भवन वरिपरिको सुरक्षा व्यवस्था केही दिन अघिदेखि नै मजबुत पारिएको छ ।
शीतलनिवासबाट कारगेटमा आउने राष्ट्रपति यादवलाई संविधानसभा परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी दिनेछ । राष्ट्रपतिको स्वागतपछि सभाध्यक्ष नेम्वाङले संविधानसभाको अन्तिम बैठक प्रारम्भ भएको घोषणा गर्नेछन् ।
संविधानसभा सचिवालय स्रोतका अनुसार संविधान जारी गर्ने औपचारिक समारोह संक्षिप्त हुनेछ । सभाध्यक्षले संविधानको मूलप्रति हस्तान्तरण गरेपछि राष्ट्रपतिले त्यसको अन्तिम पृष्ठको खाली राखिएको स्थानमा हस्ताक्षर गर्नेछन् । स्रोतका अनुसार राष्ट्रपतिले संविधान जारी गरिसकेपछि संविधानसभामा मन्तव्य राख्नेछन् । संविधान जारी भएको घोषणा गर्दा राष्ट्रपतिले संक्षिप्त सम्बोधन गर्नुहुन्छ, स्रोतले भन्यो, राष्ट्रपतिले बोल्ने विषयसमेत मन्त्रिपरिषदले पारित गरेर पठाउँदै छ ।
संविधानसभाको अन्तिम बैठक भएकाले सभाध्यक्ष नेम्वाङले राष्ट्रपति, सभासद र आमनागरिकलाई धन्यवाद ज्ञापन गरी संविधानसभा समापन भएको घोषणा गर्नेछन् । संविधान जारी गरेपछि संविधानसभा स्वत: विघटन हुने प्रावधान छ । लगत्तै लागू हुने नयाँ संविधानले संविधानसभाका सदस्यहरूलाई २०७४ माघ ८ सम्मका लागि व्यवस्थापिका संसद् को सदस्यका रूपमा रूपान्तरित गर्नेछ । संविधानसभाको दोस्रो निर्वाचन ४ वर्षे कार्यकालका लागि भएको हो । निर्वाचित सभासदहरूले बाँकी कार्यकाल सांसदका रूपमा काम गर्न पाउने भएका हुन् । बाँकी कार्यकालअगावै नयाँ संविधान अनुसारको आमनिर्वाचन घोषणा भएमा उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्र उनीहरू पदमा बहाल रहन्छन् ।
संविधानले सात प्रदेशको संरचनासहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली स्थापित गरेको छ । संक्रमणकालीन व्यवस्थाअनुसार संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख, उपसभामुख र एक महिनामा राष्ट्रपति/उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्छ । राष्ट्रका यी प्रमुख पाँच पदाधिकारी चयनको तिथि संविधान जारी गर्दा संसद् अधिवेशन चालू रहेको अवस्थामा त्यसै दिनबाट र अधिवेशन चालू नरहेको अवस्थामा नयाँ अधिवेशन सुरु भएको दिनबाट गणना हुने व्यवस्था छ । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति रामवरण यादवले शनिबार नै संसदको चालू वर्षे अधिवेशन अन्त्य गरेका छन् । संविधान जारी गर्दा अधिवेशन चालू रहेनछ भने सविधान जारी भएको सात दिनभित्र अधिवेशन आहवान गर्नुपर्ने संक्रमणकालीन व्यवस्थामा उल्लेख छ । कान्तिपुरमा समाचार छ ।
असन्तुष्ट सभासदलाई संविधानमा हस्ताक्षर गर्न सभाध्यक्षको आहवान
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण भइसकेको संविधानको मूल प्रतिमा हस्ताक्षर गर्न बाँकी रहेका सभासदलाई आइतबार राष्ट्रपतिबाट संविधान जारी हुने समारोहअगावै हस्ताक्षर गर्न आहवान गरेका छन् । सभाध्यक्षले बाँकी सभासदहरूलाई आइतबार अपराहन ४ बजेसम्म हस्ताक्षर गर्न पाउने समय दिएका छन् ।
एक युगमा एकपटक बन्ने संविधानमा कोही पनि छुट्नु हुँदैन, नेम्वाङले भने, हस्ताक्षर गर्न आयोजित औपचारिक कार्यक्रममा सहभागी नहुनुभएका सभासदहरूलाई संविधानसभाबाट निर्मित संविधानमा हस्ताक्षर गर्न आहवान गरेको छु । संविधानसभाले आफ्नो अन्तिम बैठकलाई राष्ट्रिय समारोहका रूपमा आयोजना गरी आइतबार अपराहन ५ बजे राष्ट्रपतिबाट नेपालको संविधानप्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम राखेको छ । राष्ट्रपतिबाट संविधान जारी हुनु अघिसम्म उहाँहरूले हस्ताक्षर गर्न सक्नुहुन्छ, उनले भने ।
सयमा सय, त्यो पनि उधारो होइन, नगदमा खोज्दा पहिलो संविधानसभाले संविधान नै निर्माण गर्न नसकेको