आज घोषणा हुने नेपालको संविधान २०७२ नेपालका लागि ऐतिहासिक अवसर

काठमाडौं । संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष समारोहबीच राष्ट्रपति डा. रामवरण यादवबाट घोषणा हुने नेपालको संविधान २०७२ नेपालका लागि ऐतिहासिक अवसर हो ।
२००४ सालको वैधानिक कानूनमार्फत् अगाडि बढेको नेपालको संवैधानिक यात्राको क्रममा संविधानसभा मार्फत नेपाली जनताले नै संविधान बनाई आफ्ना लागि आफैले जारी गर्न लागेको यो पहिलो अवसर हो ।
राष्ट्रपतिबाट जारी भएसँगै नयाँ संविधान लागू हुनेछ भने २०६३ सालमा बनाइएको अन्तरिम संविधान खारेज हुनेछ । ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेको आज जारी हुने संविधानमार्फत गणतन्त्रलगायतका ऐतिहासिक उपलब्धिहरु संवैधानिक रुपमा संस्थागत हुनेछ ।
नयाँ प्रयोगका रुपमा आएको सात प्रदेशसहितको संघीयता संविधानको अर्को महत्वपूर्ण विशेषता हो । नयाँ संविधान जारी भएसँगै मुलुकलाई अब शान्ति, विकास र समृद्धिको बाटोमा लैजान ढोका पनि खुल्नेछ ।
नयाँ बानेश्वरस्थित संविधान जारी गर्ने भव्य समारोहमा सहभागी हुनेक्रममा संविधानसभा भवनमा प्रवेश गरेपछि राष्ट्रपति डा. रामवरण यादवलाई नेपाली सेनाले २१ तोपको सलामी दिनेछ । राष्ट्रपति डा. यादवलाई रातो कार्पेटमार्पmत संविधानसभा भवन प्रवेश गराइने छ ।
सभाध्यक्ष सुवास नेम्वाङले बैठक सुरु गरी मन्तव्य राख्दै संविधानको प्रमाणिकृत पाँचप्रति राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि राष्ट्रपति डा. यादवले संविधानको उक्त पाँच प्रतिमा हस्ताक्षर गरी संविधान प्रारम्भ भएको घोषणा गर्नेछन् ।
संविधानका उक्त पाँचप्रति दस्तावेजलाई अभिलेख प्रयोजनका लागि संविधानसभा सचिवालय, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कानून मन्त्रालयमा पठाइनेछ । संविधान जारी भएको घोषणा लगत्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालगायत समारोहमा आमन्त्रिण सम्पूर्ण व्यक्तित्व विशेष रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि संविधानसभा सचिवालयले तय गरेको छ ।
संविधान घोषणासँगै साँझ देशभर दीपावली र आतिसवाजी गर्नका लागि सरकार र विभिन्न राजनीतिक दलले आमजनतामा आह्वान गरेका छन् । इमेजखबरमा समाचार छ ।