संविधान घोषणा झण्डै एक घन्टा ढिलो हुने

संविधान घोषणा झण्डै एक घन्टा ढिलो हुने भएको छ । सभासदहरु भने पुगिसकेका छन् । संविधान घोषणा कार्यक्रम ५ बजेका लागि तोकिएको थियो । तर, एक घण्टा ढिला हुनेछ ।
स्रोतका अनुसार राष्ट्रपति डा. रामवरण यादव पौने छ तिरमात्र बानेश्वर पुग्नु हुनेछ । राष्ट्रपति बग्गीमा चढेर संविधानसभा भवनमा पुग्ने छन्, जहाँ उनलाई नेपाली सेनाले ३१ तोपको सलामी दिनेछन् ।
रातो कार्पेटमार्फत राष्ट्रपतिलाई संविधानसभा भवनभित्र लगिनेछ । राष्ट्रपतिका लागि सभाध्यक्ष आसनको दाहिनेतर्फ विशेष आसन तय गरिएको छ ।
राष्ट्रपतिले आसन ग्रहण गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले बैठक सुरु गर्नेछन् र, यो बैठक छोटो हुनेछ । सभाध्यक्ष नेम्वाङले बोलेपछि आफूले प्रमाणीकरण गरेको पाँच प्रति संविधान महासचिव महोहरप्रसाद भट्टराईमार्फत राष्ट्रपतिलाई हस्तान्तरण गरिनेछ । लगतै राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् ।
त्यसपछि राष्ट्रपतिले नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेछन् र छोटो मन्तव्य राख्नेछन् । यससँगै अन्तरिम संविधान २०६३ स्वतः खारेज हुनेछ । अन्लाईनखबरमा समाचार छ ।