नेपालको संविधान – २०७२ घोषणासँगै राजधानीमा भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली

संविधानसभाबाट नेपालको संविधान, २०७२ घोषणासँगै राजधानीमा भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ । 
 
नयाँ बानेश्वरस्थित संविधानसभा भवनबाट राष्ट्रपति डा रामवरण यादवले आज साँझ नयाँ संविधानको घोषणा गर्ने बित्तिकै राजधानीका मुख्य चोकमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी निकाय, सङ्घ-संस्था, अस्पतालहरु तथा सर्वसाधारणले भव्यरुपमा दिपावली गरी संविधान आएकोमा खुशीयाली मनाएका छन् । 
 
संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, दिपावली गरेर हाम्रो संविधानः राम्रो संविधान भन्ने जस्ता नारा लगाएर, अनुहारमा राष्ट्र र आ-आफ्नो पार्टीको झण्डा बनाएर, एकआपसमा अविर लगाएर हजारौँ सर्वसाधारणले एक-आपसमा खुशी साटिरहेका छन् । 
 
संविधानसभा भवनबाहिर सडकमा सर्वसाधारणले नेपालको राष्ट्रिय झण्डा फहराउँदै भव्य खुशीयाली मनाएर नयाँ संविधानको स्वागत गरेका छन् । त्यस्तै, माईतीघर मण्डलामा ग्यास विक्रेता महासङ्घ, काठमाडौँ जेसिज लगायतका सङ्घ-संस्थाले नयाँ संविधान आएकोमा खुशी व्यक्त गर्दै द्वीप प्रज्ज्वलन गरी स्वागत गरेका छन् । 
 
त्यसैगरी, नेकपा (एमाले)को भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल तथा नेकपा (एमाले) बागमती अञ्चल सम्पर्क कमिटीले भद्रकालीमा, नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले शङ्ख पार्कमा, एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले नयाँ बानेश्वरमा आ-आफ्नो सङ्गठनको झण्डासहित संविधानको स्वागत गरेका छन् । 
 
नयाँ संविधान जारी भएको खुशीयालीमा विभिन्न क्याम्पसमा विद्यार्थीहरुले दीप प्रज्ज्वलन गरी आपसमा खुशी साटासाट गरेका छन् ।
 
त्यस्तै, उपत्यकाका मुख्य चोक-कलङ्की, बालाजु, नयाँ बसपार्क, चक्रपथ, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खुलगायतका स्थानमा सर्वसाधारणले दिपावली गरी संविधानको स्वागत गरेका छन् । 
 
नयाँ संविधान जारी गरेको उपलक्ष्यमा राजधानीमा दीपावली गरी पुरै झिलीमिली भएको छ भने देशैभरी खुशीयालीका अवसरमा भव्य दीपावली गरिएको छ । त्यस्तै, नेपाल बाहिर दक्षिण कोरियालगायतमा रहेका नेपालीहरुले पनि नयाँ संविधान जारी भएकोमा खुशीयाली मनाइरहेको समाचार प्राप्त भएका छन् । रासस