मुलुकले आजैदेखि नयाँ संविधान पाएको छ। राष्ट्रपति डा.रामवरण यादवले आइतबार बेलुका नेपालको संविधान २०७२ घोषणा गरेका हुन्।
संविधानसभामा आयोजित विशेष समारोहमा उनले नयाँ संविधान जारी गरेका हुन्। नयाँ संविधान आजैदेखि लागु भएको छ।संविधान घोषणा गरेपछि राष्ट्रपति यादवले संविधानसभाको बैठकलार्इ सम्बोधन गर्दै राष्ट्रपति यादवले नेपालीको सात दशकदेखिको सपना पुरा गरेको बताए।
राष्ट्रपति यादवले पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट प्राप्त जनताका अधिकार, सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण तथा प्रवद्र्धन गर्न आह्वान गरेका छन् ।
नेपालको संविधान, २०७२ को घोषणापछि संविधानसभाको बैठकलाई आज साँझ सम्बोधन गर्दै उहाँले संविधानको घोषणा भएसँगै लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले मूर्तरुप लिएको बताए ।
यस अवसरमा लोकतान्त्रिक आन्दोलनका शहिद, सहयात्री जनता र जननायकप्रति सम्मान प्रकट गर्दछु, राष्ट्रपति डा यादवले भने, संविधानको घोषणासँगै हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।
नेपाली जनतामा निहित सार्वभौमसत्ता, राज्य शक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता स्थापित भएको पनि उनले उल्लेख गरे ।
सङ्घीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्वको आधारसहित अन्य विषय संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विस्तृत हुँदै जाने राष्ट्रपति डा यादवको भनाइ थियो ।
दिगो शान्ति, राजनीतिक स्थायीत्व र समानुपातिक आर्थिक विकासको बाटोमा तिब्रताका साथ अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
हाम्रो देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त रहेको छ, राष्ट्रपति डा यादवले भने, नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभूषा, संस्कृति र पहिचानलाई समान ढङ्गले संरक्षण र सम्वद्र्धन गर्नेछ ।
विविधताको बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गर्ने उनले बताए ।
हिमाल, पहाड र तराई मधेसका सम्पूर्ण दिदीबहिनी दाजुभाईलाई यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धी र सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रतात्मक राज्य संरचनालाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न आह्वान गर्दछु, राष्ट्रपति डा यादवले भने ।
संविधान गतिशील दस्तावेज भएकाले यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार र समृद्धि प्राप्त गर्नसमेत निरन्तर क्रियाशिल रहन आग्रह गर्दै राष्ट्रपति डा यादवले जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्ने साझा सङ्कल्पको दस्तावेज भएको बताए ।
यो ऐतिहासिक दस्तावेज नेपालको संविधानको निर्माणमा योगदान पुर्याउने नेपाली दिदीबहिनी तथा दाजुभाइका साथै संविधानसभाका सदस्यलगायत सबैलाई संविधानसभाका अध्यक्षमार्फत उनले धन्यवाद ज्ञापनसमेत गरे । रासस