देशका कयौ जिल्लाहरुमा लगाइएको कर्फ्यु अझै जारी, बन्दले जनजीवन प्रभावित

रौतहटको गरुडा बजारमा स्थानीय प्रशासनले सोमबार सांझबाट लगाएको कर्फ्यु आदेश मंगलबार पनि जारी राखेको छ ।
प्रशासनले सोमबार साढे पाँच बजेदेखि कर्फ्यु जारी गरेको थियो । उता, आन्दोलनकारीले गएराती रौतहटको रंगपुरमा रहेको रंगपुर प्रहरी चौकी तोडफोड गरेका छन् ।
प्रहरी चौकी भित्र रहेको प्रतिक्षालयमा आन्दोलनकारीले आगजनी समेत गरेका छन् । २ सय भन्दा बढिको समुहमा आएका आन्दोलनकारीले चौकीमा ढुङ्गामुडा गर्दै तोडफोड गरेका हुन् ।
ठुलो संख्यामा आन्दोलनकारी आएको सुचना पाएपछि प्रहरीहरु पहिले नै बाहिरिएका थिए । उता, बीरगञ्जमा भदौ १४ गतेबाट जारी गरिएको कर्फ्यु स्थानिय प्रशासनले मंगलबारबाट खुकुलो पारेको छ ।
सोमबारसम्म दिनको दुई घण्टा कर्फ्यु खुकुलो पारेकोमा मंगलबारबाट बिहान ६ देखि सांझ १० बजेसम्मको लागि खुकुलो पारेको हो ।
उता, कैलालीको धनगढी र टीकापुरमा स्थानिय प्रशासनले एक महिना यता लगाउंदै आएको कर्फ्यु मंगलबार पनि जारी राखेको छ । धनगढीमा सोमबार दिउँसो १२ देखि ४ बजेसम्म कफ्र्यू जारी गरिएको छ भने टीकापुरमा बिहान ५ देखि १ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ ।
प्रशासनले धनगढीमा भदौ ८ गतेदेखि र टीकापुरमा भदौ ७ गतेदेखि कर्फ्यु लगाउँदै आएको छ । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ भने थरुहट संघर्ष समितिले गरेको बन्द साउन २६ गतेदेखि जारी छ ।
उता, लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको तेस्रो दिन मंगलबार पनि अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र संखुवासभाको जनजीवन प्रभावित बनेको हो । संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू-भागलाई लिम्बुवान प्रदेश घोषणा गर्न माग गरेको छ । इमेजखबरमा समाचार छ ।