प्रधानमन्त्री सुशील कोइरालाले गत भदौ ७ गते ८ जना सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको हत्या भएको कैलालीको टीकापुर घटनाका दोषीहरुलाई कारबाही गरेर छाड्ने बताएका छन् ।
शनिबार कैलाली पुगेर घटनाबारे विभिन्न पक्षसँग छलफल गरेपछि उनले दोषीहरुलाई कारबाही गरेरै छाड्ने बताए ।
प्रधानमन्त्री कोइरालाको साथमा वनमन्त्री महेश आर्चाय, नेपाली सेना र नेपाल प्रहरीका प्रमुख पनि सहभागी थिए । त्यसक्रममा कोइरालाले टीकापुर घटनाका पीडितहरुसँग पनि छलफल गरेका थिए ।
प्रधामन्त्री कोइरालाले घटना गराउन प्रेरित गरेको भन्दै कांग्रेस सभासद अमरेशकुमार सिंहलाई कारबाही गर्नेसमेत बताए ।
शनिबारै रुपन्देहीको भैरहवा पुगेका प्रधानमन्त्री कोइरालाले विस्तारै तराईको जनजीवन सामान्य हुने दाबी गरे ।
सबैको भावना समेट्ने गरी संविधान जारी भएको भन्दै उनले भ्रम फैलाउनेहरुसँग सतर्क रहनसमेत आग्रह गरे । सार्वभौमिकता र राष्ट्रिय एकतालाई खलल पुर्याउने गतिविधि स्वीकार्य नहुने उनको भनाई थियो ।
प्रधानमन्त्री कोइरालाले आफू वार्ताबाटै सबै समस्याको समाधान खोज्न तयार रहेकोसमेत दोहोर्याए ।
शनिबारै प्रधानमन्त्री कोइरालाले नवलपरासीमा पनि राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, उद्योगी-व्यवसायीलगायतसँग तराई-मधेसमा जारी आन्दोलन र त्यसले पारेका समस्याबारे छलफल गरेका थिए ।
त्यसक्रममा उनले छिट्टै वार्ताबाट सबै समस्या समाधान हुनेमा आशावादी हुन आग्रह गरे । इमेजखबरमा समाचार छ ।