प्रदर्शनकारीद्धारा सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड, कयौ घाइते

दंगाग्रस्त क्षेत्रको उलंघन गर्दै प्रदर्शनकारीले आइतबार(आज) बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् ।
प्रर्दशनकारीले हानेको ढुंगामुढाबाट बसमा रहेका तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पदमबहादुर दास, गौतम यादव र सहचालक राजकुमार लोकचनलाई उपचारका लागि विराटनगर लगिएको छ ।
अरु घाइते सामान्य उपचारपछि गन्तव्य तर्फ लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय प्रशासनले सप्तरीमा कोशी नदीदेखि बलान खोलासम्म ४५ किलोमिटर राजमार्ग क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । कोशी ब्यारेजमा बोलबम मेलाको भीडमा लुकेर प्रदर्शनकारीले ढुंगा प्रहार गरेको प्रहरीको दावी छ ।
सप्तरीमै मोर्चा कार्यकर्ताले राजविराजस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड गरेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले तराई मधेसमा जारी आन्दोलन दबाउन प्रहरीलाई रकम निकासा गरी अरुलाई नगरेर पक्षपात गरेको भन्दै तोडफोड गरिएको हो । उनीहरुले टेबुल कुर्सी लगायतका सामान बाहिर निकालेर तोडफोड गरेका थिए । इमेजखबरमा समाचार छ ।